सर्लाहीमा दोश्रो पटक महेन्द्र रायबाट राजेन्द्र महतो पराजित

सर्लाही । सर्लाहीको क्षेत्र नं २ बाट नेपाल समाजवादी पार्टीका महेन्द्र राय प्रतिनिधिसभा सदस्यमा विजयी भएको छ । उनले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का उम्मेदवार राजेन्द्र महतोलाई दुई हजार १३ मतान्तरले पराजित गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ ।
वाम–लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेको नेपाल समाजवादी पार्टी (नेसपा)का रायले नेकपा(माओवादी केन्द्र)को निर्वाचन चिह्न लिएर २३ हजार पाँच सय २९ मत प्राप्त गरी विजयी भएको हो । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका महतोले २१ हजार पाँच सय १६ मत पाएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले जानकारी दिएको छ ।
उनका अनुसार विजयी भएका राय विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको थियो भने लोसपाका महतो विसं २०७४ मा नेकपा (एमाले)को सहयोगमा धनुषा क्षेत्र नं ३ बाट निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । यता वाम–लोकतान्त्रिक गठबन्धनका राय सर्लाही क्षेत्र नं २ बाटै २०७४ मा पनि निर्वाचित भएको थियो ।
त्यसैगरी सर्लाही–२ प्रदेशसभा (२)बाट नेपाली कांग्रेसका कौशल किशोर यादव प्रदेशसभा सदस्यमा विजयी भएको हो । उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार मेभुर चौधरीलाई एक सय ७९ मतान्तरले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय सर्लाहीले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यादवले नौ हजार छ सय २६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी लोसपाका चौधरीले नौ हजार चार सय ४७ मत पाएको छ ।
महतो यसअघि पनि २०७० सालको दोश्रो संविधान सभा चुनावमा रायबाटै पराजित भएको थियो । महतो त्यतिखेर आफ्नै नेतृत्वमा सद्भावना पार्टी चलाईरहेका थिए भने राय महन्थ ठाकुरको तराई मधेस लोकतान्त्रिकबाट छुट्टिएर तराई मेधस सद्भावना पार्टी खोलेका थिए ।






