मधेशका दलित महिला जो हिजोआज आफूमाथिको हिंसाविरुद्ध आवाज उठाउन थालेकी छन्

महोत्तरी । महोत्तरीकी रेणु कुमारी महरा, भर्खर १९ वर्षको पुग्दै छिन् । पारिवारिक अवस्था कमजोर भएकै कारण उनको विवाह १७ वर्षकै उमेरमा भयो । घरकी जेठी छोरीको रुपमा जन्मेकी रेणुको बाल्यकाल सहज थिएन । कारण, बुबाको मृत्यु पछि घरको सबै जिम्मेवारी उनको काँधमा आइपुग्यो । गाउँ समाजले भनेका शब्दले उनलाई मानसिक रुपले पीडा मात्रै दिएन भित्रैदेखि कमजोर बनायो ।

पढ्ने लेख्ने बेलामा घरको जिम्मेवारी काँधमा आइ सकेपछि आमासँगै दैनिक मजदुरी गर्न थालेकी रेणु बाल क्लबमा आवद्ध थिइन् । तर, बाल क्लबको कामले बाहिर हिँड्दा समाजले उनलाई नराम्रो मात्रै भनेन उनको आचरणमाथि नै प्रश्न उठाउन थाल्यो ।

रेणु भन्छिन्, ‘अरुलाई सुनाउन पनि नसक्ने कुरा मलाई मेरै काका, दाजुभाईले भन्थे । समाजका मानिसहरूले मेरी आमा र मलाई अपशब्द प्रयोग गर्थे । सुन्न नसकेपछि आमाले मेरो विवाह गरिदिनुभयो । तर, ससुरालीमा पनि मलाई सुख भएन । मोटरसाइकल नदिएकै कारण मेरो सासु ससुराले मलाई दिनदिनै तथानाम गाली गर्छन् ।’

‘श्रीमान पनि पढेका छैनन् । आफूले भने कक्षा १० सम्मको पढाई पूरा गरेको छु । मैले भोगेका मानसिक हिंसा मेरा भाइ बहिनीले नभोगुन भनेर म केही गर्न चाहन्छु । मेरा काकाहरूले मेरो बुबाको नाममा रहेका सम्पत्तिहरू हड्पेका छन् । लडेर लिन्छु । मेरो हक पाउनका लागि म लड्छु ।’ रेणु सुनाउछिन् ।

मधेशमा महिलालाई अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमा हेरिन्छ । त्यसमा पनि महिला भएकै कारण अझ दलित महिला भएकै कारण समाजमा सम्मानजनक रुपमा बाँच्न सजिलो छैन । नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई सम्मानजनक रुपमा बाँच्न पाउने अधिकार उल्लेख गरिएपनि त्यो अधिकारको उपभोग मधेशका दलित महिलाहरूले उपभोग गर्न पाएका छैनन् ।

सप्तरीका बबिता सदालाई कदमकदमा हिंसा भोग्नुपर्यो । छोरीको रुपमा उनको जन्म भएपछि बुबाले हजुर आमाको दवावमा आमासहित उनलाई घरबाट निकालिदिए । समाजले पनि उनलाई स्वीकारेन । कारण उनी छोरी थिइन् । छोरी भएर बुबा र हजुर आमाबाट पाउनुपर्ने माया त उनले पाइनन् नै समाजले पनि उनलाई स्वीकार नगर्दा मामा घरमा शरण बस्नु पर्यो ।

बबिता सुनाउछिन्, ‘हिंसा हुने कुरा कुटपिटले मात्रै बुझ्ने समाजमा गलत धारणा छ । बोलीले पनि मानिसलाई मानसिक हिंसा दिने गर्छ । जुन मैले दलित भएकै कारण भोग्नुपर्यो । जनकपुरको एक संस्थामा निःशुल्क छात्रवृत्तिमा नाम निकाल्दा पनि पैसा र ठूलो जात नभएकै कारण मलाई पढ्नबाट रोकियो । त्यति मात्रै होइन कोठा खोज्न जादा आफू दलित हो भनेर घरबेटीलाई भनिसकेपछि कोठा पनि भाडामा दिइएन् । यस्ता कैयन घटना छन् । जुन दलित भएकै कारण भोग्नु परेको छ ।’

तर, हिजोआज हिंसा गर्नेविरुद्ध बबिता सक्रिय भएर लागिरहेकी छिन् । आफूले भोगेका पीडा अरुले नभोगुन् भनेर बबिता जनचेतना जगाउने काम गर्दै हिँड्छिन् ।

उनी भन्छिन्, ‘कुनैपनि पुरुषलाई महिलामाथि कुटपिट गर्ने अधिकार कसले दियो ? महिला हो भन्दैमा ऊ कोहीसँग बोल्न नहुने भनेर कसले निर्धारण गर्यो ? महिलाको गल्ती नहुँदा उसको आचरणमाथि प्रश्न गर्ने अधिकार कसैलाई छैन । त्यसकारण संविधानले भनेको अधिकारको उपभोगका लागि म लड्छु र अरुलाई पनि चुप लागेर नबस्न भन्छु ।’

‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को आज अन्तिम दिन । प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा यो अभियान चलाइन्छ । लैङ्गिकताकै आधारमा हिंसा भोग्न नपरोस् र हिंसामा परेकाले न्याय पाउन् उदेश्यका साथ अभियान चलाइए पछि मधेशका दलित समुदायका महिला आफूले भोग्नुपरेको हिंसाविरुद्ध आवाज उठाएर अन्यायविरुद्ध लड्ने अठोट गरेर अघि बढ्न थालेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मधेशका ८ जिल्लामा गरी दलित भएकै कारण बर्सेनि औसतमा १ हजार विभिन्न हिंसाका घटनाहरू हुने गर्छन् । जसमा सबैभन्दा धेरै दाइजोप्रथा, कुटपिट, छुवाछुत, बलात्कार, हत्याका घटनाहरू छन् । त्यस्ता घटनाविरुद्ध आफूले आवाज उठाउन थालेको बताउछिन्, सर्लाहीका अनिता कुमारी पासवान ।

छुवाछुतको घटनामा समाजकै केही मानिसले आमा, बहिनी र हजुर आमालाई घरमा पसेर कुटपिट गरे त्यतिबेलाको पीडा सम्झिदा अनिताको मन भक्कानिन्छ । जेठी छोरी भएको अनि अशिक्षाका कारण १८ वर्षको उमेरमा विवाह गर्नुपरेको पीडा पनि छ । त्यसमाथि दाइजो नदिएको भन्दै सासुससुराको गालीपनि दिनदिनै सुन्नुपर्छ ।

आफूलाई मानसिक रुपमा यातना दिँदा आत्महत्या गर्ने सोँचमा पुगेकी अनितालाई अहिले भने विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले दिने प्रशिक्षणले हौसला प्रदान गरेको छ । उनी भन्छिन्, ‘आत्महत्या गर्नु कुनै पनि समस्याको समाधान होइन । मैले भोगेको पीडाबारे बोल्न जान्नुपर्छ । त्यसैले म घरमा सासुससुराको कुरा नसुनि अहिले विभिन्न प्रशिक्षणमा सहभागि हुन्छु । आफ्नो अधिकारको लागि लड्नका लागि म जेपनि गर्छु ।’

यी र यस्ता कैयन घटना दलित र त्यसमा पनि महिला भएकै कारण मधेशमा घटिरहेको छ । यसैपनि मधेशको साक्षरता दर कम हुँदा दलित समुदायका महिलालाई लैङ्गिकताका आधारमा विभिन्न हिंसा भोग्नु परिरहेको छ । पछिल्लो ५ वर्षदेखि ३ तहका सरकारले पनि उनीहरूको वृत्तिविकासका लागि काम गरिरहेको दावी गर्दै आएका छन् । तर, सोचे अनुसारको परिवर्तन हुन सकेको छैन । तर, लैङ्गिकताका आधारमा भोग्नुपर्ने हिंसाबारे बेलाबेला हुने विभिन्न प्रशिक्षण र सभा सम्मेलनले दलित महिलामा पनि परिवर्तन आउन थालेको छ ।

आफूले गर्दै नगरेको गल्तीको सजाय किन पाउने भनेर आवाज उठाउन थालेपछि अहिले मधेशका दलित महिलाहरू सम्मानजनक रुपले बाँच्न सक्ने भएका छन् । तर, समय अझै लाग्ने छ । अशिक्षा र गरिबीकै कारण हिंसामा परिरहने मधेशका दलित समुदायका महिलाहरूको वृत्तिविकासका लागि मधेश सरकारले महिला शसक्तिकरण विधेयक नै ल्याएको छ । तर, समाजमा जनचेतनाको कमी र संविधानमा भएकै अधिकार कार्यान्यनमा सरोकारवालाले ध्यान नदिँदा समस्या बढ्दो छ । त्यसकारण, उनीहरूको शिक्षामा विशेष जोड दिनुपर्छ ।

‘सभ्य समाजको पहिचान : लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष अङ्ग्रेजी महिनाको नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वव्यापी रुपमा यो अभियान चलाइन्छ । लैङ्गिकताकै आधारमा हिंसा भोग्न नपरोस् र हिंसामा परेकाले न्याय पाउन् उदेश्यका साथ अभियान चलाइए पनि मधेशका दलित समुदायका महिला आफ्नै घरपरिवारबाट हिंसा भोग्न बाध्य छन् । तर, आफूले भोग्नुपरेको हिंसाविरुद्ध आवाज उठाएर अन्यायविरुद्ध लड्ने अठोट गरेर अघि बढ्न थालेका छन् ।

प्रतिक्रिया