नवीकरणीय उर्जा सम्वन्धि अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

काठमाडौं । ‘१००% नवकरणीय ऊर्जा ः नीति, अभ्यास र अनुभव’ विषयक दुर्ई दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । पुष ३ र ४ गते काठमाडौंमा आयोजित सम्मेलनले नवीकरणीय उर्जा प्रयोगका लागि थप राजनीतिक प्रतिबद्धताको आवश्यकता रहेको औंल्याएको छ ।
सम्मेलन आयोजक मध्येको प्रकृति रिर्सोसेस् सेन्टरका कार्यक्रम निर्देशक राजु पण्डितका अनुसार विकासन्मुख देशमा नवीकरणीय उर्जाको प्रयोग निक्कै कम रहेको बताउनु हुन्छ । उहाँका अनुसार सम्मेलनमा नवीकरणीय उर्जा प्रयोगको उच्च संभावब्यता रहँदा रहँदै पनि कम प्रयोग भइरहेका विकासन्मुख देशहरुमा यसको प्रयोगलाई बढाउन राजनीतिक क्षेत्रबाट नै पहल हुनु पर्ने विषयलाई अधिकांस सहभागिहरुले उठाएका थिए ।
सम्मेलनमा सम्मेलनमा नेपालको संघिय, प्रादेशिक, र स्थानीय सरकारका ऊर्जा सम्बद्ध सरोकारवाला निकायहरू, नीजि क्षेत्र, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय÷राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रीका र युरोपका १६ देशहरुबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । ७० जना जनाको सहभागिता रहेको सम्मेलनमा बंगलादेशको उर्जा तथा खनिज मन्त्रालयका दीगो उर्जा विज्ञ सिद्धिकी जुबेर, भुटानको आर्थिक व्यवस्थापन मन्त्रालय अन्तर्गतको उर्जा विभागका प्रमुख डिकेन लामा, युगान्डाको उर्जा तथा खनिज विकास मन्त्रालयका उर्जा अधिकृत ओचेट मार्क लाजारुस लगायतका सम्वन्धित देशका सकारी प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
जलवायु परिवर्तन न्युनिकरण तथा नियन्त्रणका लागि नवीकरणीय उर्जा प्रयोग सबैभन्दा प्रभावकारी विकल्प हो । ‘१००% नवकरणीय ऊर्जा : नीति, अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलनले विकासन्मुख देशहरुमा नवीकरणीय उर्जा प्रयोगलाई बढाउन आर्थिक लगानी बढाउनु पर्ने, नवीकरणीय उर्जाका लागि प्राविधि र आर्थिक क्षमता विकासमा कार्य गर्नु पर्ने लगायतका विषयमा जोड दिएको छ ।
नेपालको कुल ऊर्जा प्रयोगको करिब ६५ प्रतिशत जैविक ऊर्जा (biomas based energey) र २७ प्रतिशत आयातित खनिज इन्धन रहेको छ । गत आर्थिक वर्षमा मात्रै नेपालमा नेपाली रुपैयाँ ३.८३ खर्ब बराबरको खनिज इन्धन आयात गरिएको थियो । जुन नेपाल सरकारको गत वर्षको वार्षिक बजेटको २३ प्रतिशत रहेको छ ।
नेपालले जलविद्युत र सौर्य ऊर्जा प्रयोग बढाउने नीति अगाडि सारेको छ । हाल जलविद्युत, सौर्य, को—जेनरेसन (cogeneration) र अफ ग्रीड उर्जाबाट कुल २ हजार ३ सय ७७ मेगावाट विद्युत उत्पादन गरिरहेको नेपालले सन् २०३० सम्ममा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । जसमा १० देखि १५ प्रतिशत लघु जलविद्युत, सौर्य ऊर्जा, वायु उर्जा जस्ता नवीकरणीय ऊर्जा रहने छ । साथै विद्युतीय सवारी साधन र विद्युतीय चुल्होलाई प्राथमिकीकरण र प्रर्बद्धन गर्दै उत्पादित नवीकरणीय ऊर्जाको उपयोग बढाउने योजना पनि रहेको छ ।
‘१००% नवकरणीय ऊर्जा ः नीति, अभ्यास र अनुभव’ अन्तर्राष्ट्रिय सम्मेलनमा पनि नवीकरणीय उर्जा प्रयोगलाई बढाउनका लागि विभिन्न देशहरुले चालेका कदमहरु सकारात्मक रहेको र नवीकरणीय उर्जाको प्रयोग बढाउनुसँगसँगै खनिज ईन्धन कटौती गर्न समेत हरेक देशले लक्षित कार्य योजना बनाउनु पर्ने विषय उठेको थियो ।

सम्मेलनमा उर्जा रुपान्तरण, दीगो र उत्थानशील उर्जा व्यवस्थापन, उर्जा प्रविधि विकास, उर्जा रुपान्तरणका लागि विभिन्न देशले स्थापित गरेका नीति तथा अनुभव, नवीकरणीय उर्जा विकासका लागि आर्थिक व्यवस्था, नवीकरणीय उर्जा सम्वद्ध बैज्ञानिक आधार र उर्जा रुपान्तरणमा सामाजिक न्याय र लैंगिकता लगायतका विषयमा छलफल गरिएको थियो ।
सम्मेलनको आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, विश्व बन्यजन्तु कोष र प्रकृति रिर्सोसेस् सेन्टरले संयुक्त रुपमा गरेका थिए ।






