फुटबल सम्राट पेलेको निधन, सात दिन शोकको घोषणा

काठमाडौं । तीन पटकको विश्वकप विजेता ब्राजिलका फुटबल खेलाडी पेलेको बिहीबार राति ८२ वर्षको उमेरमा निधन भएको छ ।

साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालले एक विज्ञप्ति जारी गर्दै क्यान्सरसँग लामो संघर्षपछि उनको मृत्यु ‘मल्टिपल अर्गन फेलियर’ का कारण भएको जनाएको छ ।

हामी तिमीलाई असीम प्रेम गरिरहनेछौँ, पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छिन् ।

उनको पूर्व टोलीका साथीहरूदेखि वर्तमान् फुटबल स्टारहरूसम्मले उहाँको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धासुमन व्यक्त गरेका छन् ।

पेलेले लामो व्यावसायिक जीवनकोे दौडान फुटबल खेललाई नै रूपान्तरण गरेको थियो ।

ब्राजिलका स्टार नेयमारले पेलेप्रति सम्मान व्यक्त गर्दै ‘फुटबललाई कलामा परिणत गरेको’ बताएको छ । फ्रान्सका केलियन एमबाप्पेले उनले विरासतलाई ’कहिल्यै नबिर्सने’ बताएको छ । पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले उनलाई ’लाखौंका लागि प्रेरणा’ भनेको छ ।

अर्जेन्टिनाका विश्वकप विजेता कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जालमा उनको आत्मको शान्तिका लागि प्रार्थना गरेको छ ।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले महान् फुटबलरको निधनपछि तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेको छ भने नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले ट्वीट गर्दै पेलेले राष्ट्रधका लागि सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जिताएको स्मरण गर्दै उहाँप्रति श्रद्धा व्यक्त गरेको छ ।

मृगौलाको समस्या र कोलोन क्यान्सरसँग जुधिरहेका उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि सन् २०२१ को सेप्टेम्बरमा उहाँको शल्यक्रिया गरिएको थियो भने त्यसपछि केमोथेरापी गरिँदै आएको थियो ।

पेलेको पूर्व क्लबकाअनुसार सोमबार क्रिश्चियन परम्परा अनुसार ‘वेक हुनेछ र त्यसपछि मङ्गलबार दक्षिणपूर्वी शहर सान्तोसमा अन्त्येष्टि हुनेछ । पेलेले आफ्नो क्यारियरको अधिकांश समय सान्तोसमा खेलेर बिताएको थियो ।

महान् फुटबलर पेलेका समर्थकहरूले फूलहरू चढाउन सान्तोसस्थित रङ्गशालामा भेला भएका छन् भने शहरमा सात दिनको शोकको घोषणा गरिएको छ ।

उनी तीन पटक विश्वकप फुटबल उपाधि जित्न सफल एक मात्र खेलाडी थिए ।

गत नोभेम्बर महिनामा अस्पतालबाट बोल्दै उनले आफ्ना प्रशंसक र दीर्घायुका लागि ईश्वरलाई धन्यवाद दिएको थियो ।

उनको जन्म सन् १९४० मा दक्षिणपूर्वी ब्रजिलमा एउटा गरिब परिवारमा भएको थियो । तर उनले आफ्नो प्रतिभा र अद्भूत क्षमताका कारण फुटबल जगत्मा अमर हुनेछ ।

प्रतिक्रिया