कोमल होटलले पाए थ्री स्टार अतिउत्तम(क) स्तरको उपाधि, जिल्लाकै उत्कृष्ठ होटल बन्यो

जनकपुरधाम । संचालनमा आएको एक बर्षमै पूर्व पश्चिम राजमार्गमा पर्ने होटल कोमलले ठुलो फड्को मारेको छ । होटल संचालनमा आएको एकबर्षमै थ्रि स्टार अतिउत्तम (क) स्तरको उपाधि प्राप्त गरेको छ । होटलले खाद्य, स्वच्छता अन्तर्गत ३ (क) मा अतिउत्तम स्तरको उपाधि पाएको होटल संचालक अनिल साहले जनाएको छ ।

नेपाल सरकार कृषि तथा पशुपन्छी विकास र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको मातहत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरबाट होटलले थ्रि स्टार पाएको संचालक साहले जनाएका छन् ।
लकडाउनताका पूर्व पश्चिम राजमार्गलाई जोड्ने मध्यबिन्दुको रुपमा रहेको ढल्केवरमा होटल संचालनमा ल्याएको थियो । करिब १६ करोडको लगानीमा होटलले २६ वटा एयरकण्डिसन कोठासहित आधुनिक होटल संचालनमा ल्याएका थिए ।

कार्यालयले बिहीबार खाद्य स्वच्छताका आधारमा होटेलहरुलाई स्तरीकरण लोगो दिने क्रममा मिथिला नगरपालिका भरीमा संचालनमा रहेको अन्य होटलहरुले घ वर्गको उपाधि पाएपनि कोमल होटलले ढल्केवरमा मात्रै होईन जिल्लामै ३(क) स्तरको एकमात्र होटलको रुपमा सुचिकृत भएको खाद्य अनुसन्धान अधिकृत प्रवीण तिवारीले जानकारी दिए ।
अनुसन्धान अधिकृत तिवारीले खाद्य स्वच्छताका आधारमा होटेल स्तरीकरण गर्ने सम्बन्धी निर्देशिका, २०७४ मा भएको व्यवस्थाअनुसार विभिन्न ५० सूचकलाई आधार मानेर होटेलको स्तरीकरण मूल्यांकन गरिएको बताए । उनले एउटा सूचकलाई दुई नम्बर दिएर मूल्यांकन गर्दा ९० भन्दा माथि अङ्क ल्याउने अति उत्तम (तीन वटा स्टारसहितको हरियो, ८०–८९ अङ्क ल्याउने उत्तम (दुई वटा स्टारसहितको हरियो), ६५–८० अङ्क ल्याउने सन्तोषजनक (एउटा स्टारसहितको हरियो) र ५०–६४ अङ्क ल्याउनेलाई सामान्य (पहेँलो) लोगो वितरण गरिएको जनाए ।
मधेश प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रमुख विजय खनालले स्तरीकरण लोगो वितरणले गुणस्तरीय सेवा प्रवाहमा ठूलो सहयोग पुग्ने बताए । स्तरीकरणको लोगो वितरणले सबै होटलहरुबीच स्तरीकरणको निम्ति स्वस्थ प्रतिस्पर्धा हुने र यसले होटेलहरुको स्तर बढ्ने र होटेल सञ्चालकहरु जिम्मेवार बन्दै जानेसमेत उनले बताए ।

होटलले यो उपाधि पाउँनु आफ्नो ईमान्दारी र निष्ठा प्रतिको प्रतिफल रहेको संचालन बताए । उनले हामी हाम्रा अतिथि र पाहुनालाई दिएको सम्मान वापत यो उपाधि उपहार स्वरुप पाएको महसुस गरिरहेको बताए ।
पालिकाभरीमा रहेको होटलहरुको गुणस्तरीय चेकजाँच गर्ने कार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामबाट खटिएका कर्मचारीहरु तथा स्थानीय प्रहरीको सहभागिता रहेको थियो । यस कार्यमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले स्थानीय जनप्रतिनिधिसँग समेत सहयोग मागेपनि उनीहरु सहभागि नभएको बताईएको छ ।






