गण्डकी प्रदेश सभामुखद्वारा सपथ ग्रहण

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाबाट सभामुखमा निर्वाचित कृष्णप्रसाद धिताललाई सपथ गराएको छ ।

प्रदेशसभाबाट शनिबार दिउँसो निर्वाचित सभामुख धिताललाई प्रदेश प्रमुख गुरुङले आफ्नै निवास सिमलचौरमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो ।

सपथ ग्रहण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, मन्त्रीहरू, प्रतिपक्षी दलका नेता तथा गण्डकी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद लगायतको उपस्थिति रहेको थियो । सभामुखमा निर्वाचित धिताल गोरखा १ (१) बाट निर्वाचित सांसद हुन् ।

आज सम्पन्न निर्वाचनमा सभामुख धितालले ३२ मत प्राप्त गरेको थियो भने उनको विपक्षमा २६ मत खसेको थियो । नेकपा (माओवादी केन्द्र) का फणिन्द्र देवकोटाको प्रस्ताव र नेकपा (एमाले)का रोशन गाहा मगरको समर्थनमा प्रस्तावित धितालको पक्षमा सत्तारूढ दलसँगै प्रतिपक्षमा बसेका एक प्रदेशसभा सदस्यले पनि मतदान गरेको थियो ।

धिताललाई सभामुख बनाउने पक्षमा सत्तारूढ एमालेका २१, माओवादी केन्द्रका आठ र राप्रपाका दुई र एक स्वतन्त्र सदस्यले मतदान गरेको थियो । विपक्षमा भने नेपाली कांग्रेसका २६ जनाले मतदान भएको थियो । ६० सदस्यीय गण्डकी प्रदेशसभामा बैठकको अध्यक्षता भएका मित्रलाल बस्यालले मतदानमा भाग लिन पाएन ।

सभामुखमा नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी पनि उम्मेदवार बनेको थियो । उनले २६ मत प्राप्त गरेको थियो ।

प्रतिक्रिया