सिरहा नपाको निवर्तमान प्रशासकीय अधिकृत बलिराम यादवलाई १५ हजार जरिवाना

काठमाडौं । सूचनाको हकसम्बन्धी ऐन उल्लङ्घन गरेको अभियोगमा सिरहा नगरपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार जरिवानासहित दण्डित गरेको छ ।
सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम परशुराम साहले प्रमुख यादवसँग सूचना माग गर्दा सूचना उपलब्ध नगराए वापत निवर्तमान प्रमुख प्रशासकीय अधिकृत यादव दण्डित भएका हुन् ।
आयोगको ०७९ माघ १२ मा बसेको इजलासले सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम सूचना नदिएवापत अधिकृत यादवलाई १छ हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको हो । सूचनाको हकसम्बन्धी ऐनबमोजिम माग गरिएबमोजिको सूचना उपलब्ध नगराउने सार्वजनिक निकायका प्रमुख कारबाहीको भागीदार हुने स्पष्ट गर्दै पटक–पटक चेतावनीसहितको आदेश हुँदा पनि सूचना नदिई कानून उल्लङ्घन गरेकाले कारबाही गरेको विज्ञप्तिमार्फत आयोगले स्पष्ट गरेको छ ।


यसअघि पनि नगरपालिकाका निर्तमान प्रमुख प्रशासकीय अधिकृत यादव त्यस नगरपालिकामा पटक–पटक विभिन्न विवादमा मुछिदै आएका छन् । हाल सिरहा नगरपालिका कार्यालयमा अर्को प्रमुख प्रशासकीय अधिकृतको रूपमा दिलीप यादव हाजिर भईसकेका छन् ।
निवर्तमान प्रमुख प्रशासकीय बलिराम यादवले नगर प्रमुख डा. नवीन कुमार यादवको निर्देशन अटेर गर्ने गरेको, नगर कार्यपालिकाको निर्णय समेत अटेर गर्ने गरेको लगायत करारका कर्मचारीहरुको म्याद सकिसकेको अवस्थामा म्याद नै नथपी तलब भत्ता निकासा गरेको लगायत दर्जनौं विवादित कामहरुमा फसेका छन् ।






