नेपाल भ्रष्टाचारको सूचकाङ्कमा विश्वको १ सय १० औं स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचारको सूचीमा विश्वको १ सय १० औं स्थानमा झरेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क २०२२ को प्रतिवेदन अनुसार नेपालले ७ स्थान सुधार गर्दै १ सय १० औं स्थानमा झरेको हो ।
भ्रष्टाचार सूचकाङ्क अनुसार सय अङ्कमा बढी अङ्क प्राप्त गर्ने मुलुकमा भ्रष्टाचार कम हुने गरेको मानिन्छ भने कम अङ्क प्राप्त गर्ने मुलुकमा बढी भ्रष्टाचार हुने गरेको मानिन्छ ।
नेपालले सन् २०२२ मा १०० मध्य ३४ अङ्क प्राप्त गरेर भ्रष्टाचार हुने मुलुकमध्य विश्वका १ सय ८० मुलुकमध्य १ सय १० औं स्थानमा रहेको छ ।
सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक डेनमार्क रहेको छ । डेनमार्कले सय मध्य ९० अङ्क प्राप्त गरेको छ । यस्तै सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छ । सोमालियाले सय मध्य जम्मा १२ अङ्क प्राप्त गरेको छ ।
दक्षिण एशियाली मुलुकहरूमा भुटान ६८ अङ्क प्राप्त गरेर २५ औं, माल्दिभ्स ४० अङ्कका साथ ८५ औं, भारत ४० अङ्कका साथ ८५ औं, बङ्गलादेश २४ अङ्कका साथ १ सय ४७ औं र अफगानिस्तान २४ अङ्कका साथ १ सय ५० औं स्थानमा रहेको छ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष पद्मिनी प्रधानाङ्गले नेपालको स्थान सुधार भएपनि भ्रष्टाचार अझै व्याप्त रहेको बताइन् ।
नेपालले भ्रष्टाचार नियन्त्रण सम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय सन्धीमा हस्ताक्षर गरेपनि त्यसलाई कार्यान्वयन गर्न नसकेका कारण भ्रष्टाचार न्यूनिकरण हुन नसकेको उनको भनाइ छ ।






