मधेस सरकारमा सहभागी हुँदै माओवादी, भोलि १ बजे शपथ ग्रहण

जनकपुरधाम । मधेस प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी हुने भएको छ । गत माघ २० गते भएको मन्त्रिपरिषद् विस्तारमा सहभागी नभएको माओवादी केन्द्र मङ्गलवार सरकारमा सहभागी हुन लागेको स्रोतले जनाएको छ । माओवादी केन्द्र अन्ततः एक मन्त्री र एक राज्यमन्त्री लिएर मधेस प्रदेशको मन्त्रिमण्डलमा सहभागी हुन लागेको हो

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो मातहतमा राखेको उद्योग पर्यटन तथा वन मन्त्रालय माओवादीलाई दिने सहमति भएको हो।

माओवादीले उद्योग, पर्यटन तथा वन मन्त्रालय र एक राज्यमन्त्री पाउने भएको छ । उद्योग मन्त्रालयमा माओवादी केन्द्रले सुनिता यादवलाई पठाउने भएको छ । त्यस्तै उद्योग, पर्यटन तथा वन राज्यमन्त्रीमा रहबर अन्सारीले जिम्मेवारी पाएको स्रोतले जनाएको छ । मधेस प्रदेशमा माओवादी केन्द्रका ९ सांसद रहेका छन् ।

गत माघ २० गते मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्र मधेस प्रदेशमा पार्टी अध्यक्ष प्रचण्डकै निर्देशनमा सरकारमा सहभागी भएको थिएन । माओवादीलाई एक मन्त्री र एक राज्यमन्त्री मात्रै दिने अडान मुख्यमन्त्रीले राखेपछि अन्ततः माओवादी सरकारमा सहभागी हुन लागेको एक सांसदले बताए ।

मधेस प्रदेश दलका नेता भरतप्रसाद साहले माओवादीलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय दिने तयारी गरिएको बताउँदै आएका थिए ।

दुवै मन्त्रीको शपथ मङ्गलवार दिउँसो हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

प्रतिक्रिया