अष्ट्रेलियामा पहिलो पटक धोति–कुर्ता र्याली

जनकपुरधाम । अष्ट्रेलियाको संघिय राजधानी क्यानवेरामा मधेशी प्रवासीहरुले मधेशको पहिरण धोति–कुर्ता, गम्छा तथा सारी लगाएर परेडमा सहभागिता जनाएको छ ।
गैर–आवासिय नेपाली संघ क्यानवेराको आयोजनमा पहिलो पटक भएको नेपाल फेस्टिवलमा मधेशी प्रवासीहरुले आफ्नो परम्परागत पहिरणमा सहभागिता जनाएको हो । क्यानवेरा निवासी मधेशी प्रवासीहरुको नेतृत्व मधेशी समाज क्यानवेराले गरेको समाजका अध्यक्ष रितेश कुमारले जनाए ।
र्यालीमा करिब ४० जना मधेशीहरुको सहभागिता रहेको थियो । पुरुषहरु परम्परागत धोति–कुर्ता र गम्छा सहितको पहिरणमा थिए भने महिलाहरु सारी र गर–गहनामा सजिएका थिए ।
देश एक कथा अनेक स्लोगन रहेको नेपाल फेस्टिवलको बहुसंस्कृतिक परेडमा मधेशी समाज लगायत, नेवारी समुदाय, तामाङ समुदाय, सनातन समाज र विभिन्न समाजिक संस्थाका व्यक्तिहरु आ–आफ्नै पहिरणमा सजिएर सहभागिता जनाएको मधेशी समाजका महासचिव प्रभाकर साहले बताए ।
नेपाल फेस्टिवलमा मधेशी समाजले मिथिला चित्रकलाको संगै छठ पर्वको मोडेल पनि प्रदर्शन गरेको पनि महासचिव साहले जनाए ।










