तीन स्थानमा उपनिर्वाचनका लागि मतदान सुरु

काठमाडौं । नेपालका ३ स्थानमा भइरहेको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि तीनवटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ ।

बारा क्षेत्र नं. २, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

गत मङ्सिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट निर्वाचित नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले उपनिर्वाचन गराउन लागिएको हो ।

यसैगरी चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उनको सांसद पद गुमेपछि त्यहाँ पनि उपनिर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचित सांसद पदहरू रिक्त भएमा उपनिर्वाचनबाट पूर्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

चितवन क्षेत्र नम्बर २ मा रास्वपा सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काँग्रेसका जीतनारायण श्रेष्ठ लगायत उम्मेदवार छन् ।

तनहुँ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसबाट गोविन्द भट्टराई, नेकपा एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. स्वर्णिम वाग्ले उम्मेदवार छन् ।

यसैगरी बारा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पुरुषोत्तम पौडेल, सत्ता गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतिक्रिया