मधेस प्रदेश सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्छ : नेता निधि

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेस प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेस धनुषाद्वारा शनिबार आयोजित सम्पन्न सातौं जिल्ला अधिवेशन उद्घाटन समारोहमा अब कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्नु पर्ने बताए ।

‘कांग्रेसले जनता समाजवादी पार्टीलाई बारामा जिताउन मद्दत गरेको छ । यसअघि पनि जसपा मधेस सरकारको नेतृत्व गरिसकेको छ । अब कांग्रेस नेतृत्वको गठबन्धन सरकार बन्नु पर्दछ,’ निधिले भने ।

कांग्रेस मधेस प्रदेशका सभापति एवं संसदीय दलका नेता कृष्ण यादव र पूर्वसंसदीय दलका नेता रामसरोज यादव मिलेर कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनाउन पहलकदमी गर्न सल्लाह पनि उनले दिए । ‘मधेसमा कांग्रेस नेतृत्वको सरकार बनेसँगै संघमा पनि कांग्रेस नेतृत्वको सरकार बन्छ,’ निधिले भने ।

गठबन्धन सरकारको प्रमुख दायित्व राजनीतिक स्थिरता भएको उल्लेख गर्दै उनले संघमा बनेको सत्ता गठबन्धन पाँच वर्ष चल्ने तथा प्रचण्डपछि माधवकुमार नेपाल र त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा साझा सरकार बन्ने बताए ।

‘संविधानले संसद् विघटनको परिकल्पना गरेको छैन । पाँच वर्षसम्म यही संसद् चल्नु पर्दछ । राजनीतिक स्थिरता यसैबाट आउने हो,’ उनले भने । चुनावी गठबन्धनले कांग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुकहरु खुसी नदेखिएको उनले बताए । ‘२०८४ को चुनाव कांग्रेस एक्लै भिड्नु पर्दछ,’ निधिले भने ।

प्रतिक्रिया