डा.जामुन सिंह : सरकारको तलब खाने तर, सरकारकै अस्पतालमा नभेटिने

जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको प्रादेशिक अस्पताल जनकपुर सँधै कुनै न कुनै विषयका कारण चर्चामा आइरहन्छ । कहिले बिरामीको उपचारमा कमीको गुनासो, कहिले कर्मचारी व्यवस्थापनको विषय भने कहिले चिकित्सक अस्पतालमाभन्दा बढी क्लिनिकमा समय बिताउने लगायत अनेकन विषयका कारण प्रादेशिक अस्पताल जनकपुरले सबैको ध्यान आफूतिर तानिरहन्छ ।
अस्पतालमा बिरामी अनुपातको न त चिकित्सक छन् न त अन्य जनशक्ति नै । जसका कारण अस्पताल पुग्ने बिरामीले गुणस्तरीय सेवा पाउन सकिरहेका छैनन् । भएका चिकित्सकहरूमध्ये पनि अधिकांश आफ्नै निजी क्लिनिक र अस्पतालमा समय बिताउने गर्छन् । जसका कारण अस्पतालको सेवामाथि नै प्रश्न उठिरहन्छ ।
नागरिक मिररले गत चैत्र १ मा ‘प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख क्लिनिकमै बिताउँछन् समय’ शिर्षकमा समाचार नै प्रकाशन गरेको थियो । जसको प्रभावस्वरुप अस्पतालमा थोरै भएपनि चिकित्सकहरूले समय दिन थाले । तर, अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. जामुन प्रसाद सिंहको अवस्था हेर्ने हो भने उनले नैतिक भ्रष्टाचार गरिरहेका छन् ।
डा.सिंहले प्रादेशिक अस्पताल जनकपुरमा पछिल्लो ९ महिनामा ७० दिन मात्रै हाजिरी गरेका छन् । तर, तलब भने एक महिनाको पनि छोडेका छैनन् ।
लोकसेवा आयोगबाट नाम निकालेर प्रादेशिक अस्पतालमा नियुक्ति पाएका डा.सिंह अस्पतालभन्दा बढी आफ्नै निजी क्लिनिक र आफैले सञ्चालन गरेको अस्पतालमा भेटिन्छन् ।
यसको उदाहरण जनकपुरमा सञ्चालित उनका क्लिनिक र अस्पतालमा पुग्दा सहजै देख्न सकिन्छ । त्यसबाहेक उनले प्रादेशिक अस्पतालमा पछिल्लो समय गरेको हाजिरीले पनि देख्न सकिन्छ ।

२०७४ सालमा अञ्चल अस्पतालमा जागिर खान पुगेका डा.सिंह अहिले प्रादेशिक अस्पताल जनकपुरको दशौं तहका कर्मचारी हुन् । तर, प्रादेशिक अस्पतालमा नियुक्ति पाएर तथा सरकारी तलब खाएर पनि उनी प्रादेशिक अस्पतालमा भेटिँदैनन् । उनलाई भेट्नु छ भने उनले सञ्चालन गरेका जनकपुर बाल अस्पताल, तपसी चोक र गुठीको जग्गा मिचेर सञ्चालनमा ल्याएका शङ्कटमोचन बाल क्लिनिक, दशरथ तलाउ नजिकै पुग्नुपर्छ ।

त्यहाँ उनी चढ्ने गाडी मात्रै होइन उनलाई उपचार गरिरहेको अवस्थामा पनि देख्न सकिन्छ । प्रादेशिक अस्पतालको कर्मचारी सूचीमा उनको नाम छैटौं स्थानमा छ । वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन दशौं तह भनेर । तर, उनी प्रादेशिक अस्पतालमा सेवा दिनुभन्दा क्लिनिक र अस्पतालमा बढी समय बिताउँछन् । जसको उदाहरण यो तस्वीरले दिन्छ :

गत वैशाख २७ मा दशरथ तलाउ नजिकैको अतिक्रमित जग्गामा सञ्चालित क्लिनिक अगाडी डा.सिंहले प्रयोग गर्दै आएको गाडी हो यो । बिहानको ८ : ४८ बजे उनी क्लिनिकमा थिए । त्यसै दिन बिहानको ११ बजेसम्म उनी प्रादेशिक अस्पतालमा पुगेका थिएनन् । त्यतिमात्रै होइन उनको नाम अस्पतालको कुनैपनि बोर्डमा भेटिँदैन ।

डा.सिंहको नाम बालरोग विभागको चिकित्सकको नाम लिस्टमा पनि छैन । उनी हाल कहाँ कार्यरत छन् भन्ने विषयमा पनि अस्पताल प्रशासनलाई जानकारी नै छैन । कारण, उनी कतिबेला अस्पताल आउँछन् र अस्पतालको कुन विभागमा काम गर्छन् भन्ने जानकारी कसैसँग छैन ।
प्रादेशिक अस्पतालमा काम गरिरहेका डा.सिंहलाई कोरोना महामारीको बेलामा कोभिड विशेष अस्पतालको जिम्मेवारी दिइएको थियो । कोरोना विशेष अस्पताल सरकारले खारेज गरिदिए पछि उनी पुनः प्रादेशिक अस्पतालमा काममा फर्कनुपर्ने हो । तर, उनी काममा फर्कनु त परको कुरा उनलाई प्रादेशिक अस्पतालमा भेट्न असम्भव जस्तै छ ।

हुन त यो प्रादेशिक अस्पतालका चिकित्सकबारे नयाँ तथ्य होइन । तर, सरकारी तलब र सेवा सुविधा लिएर हाजिर समेत नगरी बाहिरबाहिर मात्रै सेवा दिनेमा डा.सिंहलाई अब्बल दर्जाकै मान्नुपर्छ । यस विषयमा प्रादेशिक अस्पताल प्रशासन मात्रै होइन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि अनभिज्ञता व्यक्त गर्छ ।
प्रतिष्ठान भन्छ यस्ता समस्या समाधानका लागि हामी प्रयत्नरत छौं । तर, प्रतिष्ठानको प्रयत्नले हालसम्म कुनैपनि उपलब्धी हासिल हुन सकेको छैन । अस्पतालमा हाल कायम दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक अभाव रहेको बेला भएका चिकित्सक पनि उपलब्ध नहुँदा सेवाग्राहीलाई मार पर्ने नै भयो ।
सरकारी सेवा सुविधा लिँदै आएका डा.सिंहलाई न त कसैले कारबाही गर्न सकेको छ न त उनलाई सुध्रिन नै भन्न सकेको छ । नेपाल सरकारको जागिरे डा.सिंहले बर्सेनि ६ लाख ७२ हजारभन्दा बढी तलब खान्छन् भने उनलाई खुवाइएको तलबबापतको सेवा सेवाग्राहीले लिन पाएका छैनन् । यस्ता बेथिति प्रादेशिक अस्पतालमा अन्त्य नभएसम्म मधेश प्रदेशको स्वास्थ्य सुचकाङ्क कहिल्यै सुधार नहुने नै देखिन्छ । आफ्नो कामप्रति इमान्दार नहुने र जिम्मेवार निकायको पनि वेवास्ताका कारण मधेशको स्वास्थ्य अवस्था झन् झन् कमजोर हुँदै गएको देखिन्छ ।
यो पनि…
प्रादेशिक अस्पताल जनकपुरका अधिकांश विभागिय प्रमुख क्लिनिकमै बिताउँछन् समय






