धनुषाको कमला नदीले गर्नसक्ने क्षति र तटबन्धबारे अनुगमन

जनकपुरधाम । जिल्ला विपद् व्यवस्थापन समिति धनुषाका पदाधिकारीलगायत सरोकारवालाको टोलीले वर्षायाममा कमला नदीले गर्नसक्ने क्षति र नदी नियन्त्रणका लागि गरिएको तटबन्धबारे स्थलगत अनुगमन गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहाल नेतृत्वको टोलीले वर्षायाममा हुनसक्ने जोखिम र कमला नदी नियन्त्रण आयोजनाले त्यसको रोकथामका लागि धनुषातर्फ विभिन्न स्थानमा निर्माण गरेको तटबन्धबारे स्थलगत अनुगमन गरी आवश्यक जानकारी लिएको हो ।
प्रमुख जिल्ला अधिकारी दाहालले कमला नदीमा आउने बाढीले बर्सेनि पु¥याइरहेको क्षति तथा आगामी दिनमा हुनसक्ने समस्याको पूर्वआकलन गरी आवश्यक तयारी र सतर्कताका लागि सरोकारवालासहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको जानकारी दिएका छन् ।
उनले त्यसक्रममा कमला नदी नियन्त्रण आयोजना धनुषा र भारतीय पक्षबाट भएको तटबन्धका बारेमा पनि जानकारी लिएको बताए । “कमला नदीमा आउने बाढीले बर्सेनि आसपासका क्षेत्रमा कटान तथा डुबान हुने गरेको छ । यसपालि पनि वर्षायाममा हुने जोखिमको आकलन, विपद्को अवस्थामा उद्धारका लागि गर्न सकिने रणनीतिक तयारीका बारेमा जानकारी लिन सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिसहित अनुगमन गरेका छौँ”, दाहालले भने, “धनुषामा सबैभन्दा ठूलो नदीका रूपमा रहेको कमलामा बाँधिएको बाँधको अवस्था तथा जोखिमपूर्ण स्थानको आकलन गरी आगामी रणनीति बनाउने छौँ । जसले जोखिमका बेला गर्न सकिने उद्धारका विषयमा पनि हामीलाई सहज हुनेछ ।”
त्यसैगरी जिल्ला समन्वय समिति धनुषाका संयोजक राजनन्दन मण्डलले कमला नदीको बहावका कारण हुने कटान तथा डुबानको जोखिमका विषयमा आवश्यक जानकारी लिइएको र यसले सुरक्षाका लागि थप योजना बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । “विपद् भइसकेपछि आउनुभन्दाअघि नै अनुगमन गर्दा जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र सरोकारवालालाई समस्याको प्रतिकार्य योजना बनाउन सहयोग पुग्नेछ”, मण्डलले भने ।
त्यसक्रममा नेपाल भारतको सिमानामा रहेको जनकनन्दनी गाउँपालिका–१ इनर्वासँगै भारततर्फको भागमा नेपाल पक्षको आग्रहमा भारत सरकारले निर्माण गरेको तटबन्ध र कमला नगरपालिका क्षेत्रमा पर्ने लक्कड, हथमुण्डा, सबैला नगरपालिकामा रहेको पर्टेवा, हरिने, किरतपुर र गणेशमान चारनाथ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा कमला नदी नियन्त्रण आयोजनाले बनाएको तटबन्धको अनुगमन गरिएको थियो ।
त्यसअवसरमा जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलले वडा नं १ मा भारत सरकारले निर्माण गरेको तटबन्धले पारेको प्रभावका विषयमा जानकारी गराए । उनले पालिकाको इनर्वा, कठाल, बलहा तथा पतनु गाउँ कमलाको उच्च जोखिममा रहेकाले सरकारले ती क्षेत्रमा भारतीय पक्षले निर्माण गरेको जस्तै स्थायी प्रकृतिको बलियो बाँध निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।
यसैगरी कमला नगरपालिकाका प्रमुख विश्वेश्वर यादवले नदीका कारण हुने जोखिम नियन्त्रण पालिकाको एकल प्रयासले सम्भव नभएकाले सङ्घीय सरकारको आयोजना, प्रदेश सरकारलगायतले अझ बढी सहयोग गर्नुपर्ने बताए । सबैला नगरपालिकाका प्रमुख कारीराम यादवले पनि नगरक्षेत्रको पटेर्वामा निर्माण भएको तटबन्ध, अन्य जोखिमपूर्ण क्षेत्रका विषयमा जानकारी गराउँदै नदी नियन्त्रणका लागि थप तटबन्धको आवश्यकता रहेको बताए ।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख जीतनारायण यादवले पनि कमला र चारनाथ खोलाले नगरक्षेत्रका बस्तीमा पार्ने प्रभाव र जोखिमका विषयमा अनुगमन टोलीलाई जानकारी गराए ।
कमला नदी नियन्त्रण आयोजना प्रमुख डिभिजनल इञ्जिनियर विष्णुदेव यादवले कमला नदीमा रहेको ३४ दशमलव पाँच किलोमिटर बाँधमध्ये नदीले कटान गरेका जोखिमपूर्ण स्थानमा आयोजनाले तटबन्धको काम गरिरहेको जानकारी दिए ।
उनले लक्करमा करिब रु दुई करोड, हरिनेमा करिब रु ६० लाख, पर्टेवामा करिब रु तीन करोड १५ लाखको लागतमा तटबन्ध निर्माण गरिएको बताए । अनुगमनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक दिनेश मल्ल, नेपाली सेनाका कर्णेल सुरेश देवकोटा लगायतको सहभागिता थियो ।






