ढल्केवरमा युवालाई डिजिटल सुरक्षा र कानुनी अधिकारबारे अभिमुखीकरण

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–ढल्केवरमा युवालाई डिजिटल सुरक्षा, गलत सूचनाको पहिचान तथा कानुनी अधिकारबारे सचेत गराउने उद्देश्यले आयोजित एकदिवसीय डिजिटल सुरक्षा तथा कानुनी साक्षरतासम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
आइतबार ढल्केवरस्थित मिथिला चिया पञ्चायत होटल एन्ड क्याफेमा हाम्रो युवा क्लब ढल्केवरको आयोजनामा सम्पन्न कार्यक्रममा १८ देखि २५ वर्ष उमेर समूहका ३५ जना युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो। कार्यक्रम क्लबका अध्यक्ष दिपेश कुमार सिंहको अध्यक्षता तथा समाजसेवी राजलाल महतोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमको पहिलो सत्रमा लियो विकास साहले मिथ्या सूचना तथा भ्रामक समाचारको पहिचान, तिनबाट बच्ने उपाय र सामाजिक सञ्जालमा सूचना साझा गर्दा अपनाउनुपर्ने सावधानीबारे प्रशिक्षण दिएका थिए। दोस्रो सत्रमा विपुल कुमार कुशवाहाले डिजिटल गोपनीयता र सुरक्षासम्बन्धी विषयमा प्रस्तुतीकरण दिएका थिए।
त्यसैगरी, तेस्रो सत्रमा कानुनका विद्यार्थी दिवेश कुमार महतोले गोपनीयताको हक, सहमतिसम्बन्धी कानुनी मापदण्ड तथा प्रावधान, जबरजस्ती करणी र लागूऔषध दुरुपयोगसम्बन्धी नेपालको कानुनी व्यवस्थाबारे सहभागीलाई जानकारी गराएका थिए।
दसैँ–तिहारको बिदालाई सदुपयोग गर्दै युवामा डिजिटल तथा कानुनी साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी राजलाल महतोले वर्तमान समयमा युवा पुस्ता सचेत र शिक्षित हुनु आवश्यक रहेको बताए। डिजिटल सुरक्षा तथा साक्षरताबारे युवालाई जानकारी गराउने उद्देश्यले आयोजित कार्यक्रममा सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अतिथिहरूले युवालाई गलत क्रियाकलापबाट टाढा रहन, सामाजिक उत्तरदायित्व बहन गर्न र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादव, हिमालय युवा क्लब नक्टाझिजका पूर्वअध्यक्ष अरुणकुमार महतो, लियो क्लब अफ काठमाडौं क्यापिटलकी अध्यक्ष अञ्जली कुशवाहा, लियो क्लब अफ मिथिला आदर्शका अध्यक्ष धर्मेन्द्रकुमार महतो, लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्सका मेम्बरसिप चेयरपर्सन रुपेश यादव, लियो रजनिश सिंह राजपुत, लियो पूजा साह तथा सामाजिक अभियन्ता रविन्द्र महतोलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी सबै युवालाई प्रमाणपत्र प्रदान गरिएको थियो। साथै, कार्यक्रम सफल बनाउन योगदान पु¥याउने व्यक्तिहरूलाई आयोजक समितिले सम्मान गरेको थियो।
हाम्रो युवा क्लब ढल्केवरको आयोजनामा सम्पन्न कार्यक्रमलाई लियो क्लब अफ मिथिला आदर्श, लियो क्लब अफ काठमाडौं क्यापिटल र लियो क्लब अफ भक्तपुर दिवेश्वरी लयर्सले सहजीकरण गरेका थिए।






