स्रष्टाको सम्मानमा राजनीति : शिलान्यास गरिएको ठाउँमा जौँ उम्रियो, तर बनेन भानुभक्तको शालिक

जनकपुरधाम । जनकपुरधामको भानु चोकमा आदिकवी भानूभक्त आचार्यको शालिक बनाउन शिलान्यास गरिएको ठाउँमा जौँ उम्रिन थालेको छ । तर, शिलान्यास भएको ३ महिना बित्दा पनि उनको शालिक बन्न सकेको छैन् ।

मधेस केन्द्रित पार्टीका युवाहरूको विरोधले गर्दा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले भानूभक्त आचार्यको शालिक बनाउँन रस्साकस्सीबीच शिलान्यास गरेपनि अन्ततः निर्माण हुन सकेको छैन । आदिकवी भानुभक्त आचार्यको जन्मजयन्ती देशभर धुमधामका साथ मनाईएपनि जनकपुरको भानुचोकमा भानुको शालिक नहुँदा सुनसान देखियो ।

भानुचोकमा उपमहानगरपालिकाले शालिक बनाउँन शिलान्यास गर्दा मधेस केन्द्रित दलहरू जसपा, लोसपा र जनमत पार्टीका युवाको भ्रातृ सङ्गठन र विद्यार्थी सङ्गठनहरूले भानुचोकमा भानुभक्तको हाईन रमेश महतोको शालिक बनाउँनुपर्ने माग गर्दै चरणबद्ध रुपमा प्रदर्शन गरेका थिए । उनीहरूले प्रदर्शन गर्दा न त्यहाँ भानुभक्तको शालिक बन्यो न त रमेश महतोकै ।

साविकमा आदिकवी भानूभक्त आचार्यको शालिक राखी भानूचोक नामाकरण गरिएको थियो । तर, मधेस आन्दोलन ताका आक्रोशित आन्दोलनकारीहरुले त्यस चोकमा रहेको भानूभक्तको शालिक भत्काए थिए । र, त्यस चोकको नामाकरण रमेश महतो चोक गर्न उद्घोष गरेको थियो । आन्दोलनको क्रममा शालिक भत्काएपछि खाली रहेको ठाउँमा जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।०८० को बजेटमा त्यहाँ पुनः भानूभक्तको शालिक बनाउँन योजना राखेर निर्माण कार्य सुरु गर्न शिलान्यस गरेपनि अवरोधका कारण बन्न सकेन ।

यो सँगै नेपाली काँग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ, तरुण दल, नेकपा एमाले, रास्वपा, माओवादी केन्द्र, नेकपा एसका विद्यार्थी संगठनहरुले जनकपुरधाम उपमहानगरपालिकाको मेयरलाई आदिकवी भानूभक्त आचार्यको शालिक बनाउँन ध्यानाकर्षण गराएको थियो ।

मेयरलाई शालिक निर्माण गर्न ध्यानाकर्षण गराएका नेपाली काँग्रेसका युवा नेता रामगुन यादवले मेयरको कमीकमजोरीले आदिकवी भानूभक्त आचार्यको शालिक बन्न नसकेको आरोप लगाएका छन् ।

आठ वटा सङ्गठनको सहयोग भएपनि शालिक निर्माण गर्न नसक्दा यसमा मेयरको कमजोरी स्पष्ट रुपमा देखिएको उनको आरोप छ । मेयरको कमिकमजोरीले शालिक नबन्दा श्रष्ठाको अपमान भएको र मजाक मात्रै उडेको उनले बताए ।

जसपा, लोसपा र जनमत पार्टीले विरोध गर्दा शालिक निर्माण गर्न मेयरले हामीसँग सहयोग मागे र पछि हामी मेयरसँग उभेर शालिक निर्माण गर्न अगाडी बढेपछि उनी आफै पछाडी हटेको उनको आरोप छ ।

आजै भानु जयन्तीको अवसरमा काठमाडौंमा नेपाल प्रज्ञा प्रतिष्ठानले रथ यात्रा गर्यो । जुन रथमा सवार थिए, जनकपुरधामका धरोहर वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमल भने अर्का थिए अनुसन्धात्मक लेखक डा. दायाराम श्रेष्ठ ।

भानु जयन्तीको दिन वहाँहरूलाई उच्च सम्मानका साथ रथमा सवार गराएर रथ यात्रा गराईयो । यतिमात्रै होईन जनकपुरधामका एकजना लेखक रोशन जनकपुरी, गायक सुनिल मल्लिक र रुवी कुमारी कर्णलाई पनि सम्मान गरियो । तर, भानु जयन्तीको दिन भने जनकपुरधाममा भानुभक्तको शालिक खडा हुन सकेन् ।

ऐतिहासिक रामायणकालिन ईतिहाससँग जोडिएको जनकपुरधाममा नेपाली भाषामा रामायणको अनुवाद गर्ने आदिकवी भानुभक्त आचार्यको शालिक नबन्नु दुर्भाग्य र दुःखद रहेको वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको भनाइ छ ।

उनले नेपाली राजनीतिको धृणा प्रतिकृया स्वरुप जनकपुरधाममा आदिकवी भानुभक्त आचार्यको अपमान भएको बताए ।

उनले भने, ’अधिकारको क्षेत्रमा दमन भएको रिसमा र त्यसको भडास स्वरुप जनकपुरधामस्थित भानुचोकमा आदिकवी भानुभक्तको शालिक बन्न सकेन यो नेपाली राजनीतिको धृणात्मक परिणाम हो ।’

विरोध गरेर शालिक बन्न नदिएपनि बढी समर्थन शालिक बन्न मै रहेको उनको बुझाई छ । उनले भानुभक्तको स्मरणमा भानुचोकमा शालिक बन्नु जरुरी रहेको बताए ।

डा. विमल भन्छन्, ’धृणा गरेर कहाँकहाँ शालिक तोड्ने । हरेक दिन उहाँको शालिक तयार हुँदैछ । कति तोड्ने । हाम्रो बालबालिकाले पढ्ने कोर्समा छ । जुन सबैले दिनहुँ पढिरहेका छन् । जब कोर्समै शालिक छ भने चोकमा भएको कुनै शालिक तोडेर केही हुँदैन। यसले जनकपुरधामको पर्यटकीय वातावरण पनि नराम्रो हुँदैछ ।’

भानूचोकमा शालिक नबनेपनि शुक्रवार बिहान केही व्यक्तिहरूले सामान्य रुपमा भानुचौक जिन्दावाद नारावाजी गर्दै भानु जयन्ती मनाएका थिए ।

यता जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहले भानुचोकमा भानुभक्तको शालिक नबन्दा खल्लो महसुस भइरहेको बताए । उनले उपमहानगरपालिकाका सबै जनप्रतिनिधिहरूले मानेपनि शालिक बन्न नसकेपछि दुःखद महसुस भइरहेको बताए।

उनले आदिकवी भानूभक्तलाई सम्मान दिनु जनकपुरधामको सम्मान र रामायणको सम्मान हुने बताए । मेयर साहले भने, ’रामायणको जसले प्रचार गर्यो त्यसमा जनकपुरधामको वर्णन गरिएको छ । अब उनको त्यति ठूलो भूमिकालाई सम्मान गर्ने काम र दायित्व हाम्रो हो ।’

मधेस आन्दोलनमा ज्यानको आहुति दिने सम्पूर्ण सहिदहरूको सम्मानमा उपमहानगरपालिकाले सिङ्गो सहिदद्वार नै बनाएको छ । त्यसैले स्रष्टाको सम्मानलाई पनि कदर गर्नुपर्ने हाम्रो जिम्मेवारी रहेको मेयर साहले बताए ।

मेयर साह भन्छन्, ’जनकपुरधामको अन्य क्षेत्रमा सहिद रमेश महतोको शालिक बनाउन माग गरोस् म बनाउन तयार छु । तर, त्यहाँ भानुभक्तकै शालिक बन्नु उचित छ।’

प्रतिक्रिया