फेसबुकमा हाकिम खोज्दै मेयर, हाकिम सरुवा खोज्दै सिंहदरबारमा !

जनकपुरधाम । जनप्रतिनिधि सहितको अड्डा भएको कार्यालयमा कार्यालय प्रमुख र जनप्रतिनिधिबीचको समन्वयलाई महत्त्वपूर्ण मानिन्छन् । दुबैबीचको समन्वय र सहकार्यले कार्यालय सञ्चालनमा सहजता प्रदान गर्ने गर्छन् । तर महोत्तरीको एक नगरपालिकामा त्यो समन्वय भएको देखिदैन ।
महोत्तरीको भंगहा नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतबीच समन्वयको अभाव हुँदा नगरपालिकाको कामकाज ठप्प भएको छ ।
भंगहा नगरपालिकाका मेयर संजीव कुमार साहले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा एउटा पोष्ट गरे । जसमा उनले आफ्नो नगरपालिकाको हाकिम हराएको र कोही कसैलाई भेटेमा जानकारी गराउन भनेर व्यङ्ग्य गरेका थिए । उनको पोष्ट यस्तो थियो, ‘हाम्रो भंगहा नगरपालिकाको कार्यकारी प्रमुख श्रवण कुमार साह १८ दिनदेखि अफिस नआएको साथै फोन समेत नलागेकोले कोही कसैले भेटेमा जानकारी गराउनु होला ।’
मेयर साहले फेसबुक मार्फत हाकिमलाई खोजिरहेका छन् । उनले १८ दिनदेखि नगरपालिकामा अनुपस्थित प्रमुख प्रशासकीय अधिकृतलाई फेसबुकमा खोजिरहेको छ ।
विगत १८ दिनदेखि प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआउँदा कार्यालयको दैनिक प्रशासनिक कार्यसहित अन्य महत्वपूर्ण कार्यहरु ठप्प रहेको मेयर साहले बताए । उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित नहुदा पानीको हाहाकार हुँदा समेत नगरबासीको लागि आवश्यक पानीको व्यवस्थापन गर्न नसकेको, घरपालुवा जनावरहरुमा फैलिएको लम्पी स्किन रोगको औषधी खरिद लगायतको सेवाहरु ठप्प भएको छ ।

विना जानकारी हाकिम कार्यालयमा अनुपस्थित छ, उनले भने, मसँग कुनै सम्पर्कमा छैन ।
यता प्रमुख प्रशासकीय अधिकृत डा। श्रवण कुमार साह मेयर साहको भनाईमा असहमत छन् । उनले आफु गत साउन ११ र १२ गते जनकपुरमै स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रम सहभागी भएको बताए । उनले आफू मन्त्रालयबाट बिदा स्वीकृत गराएर यतै काममा रहेको बताए ।
मेयर साह र प्रमुख प्रशासकीय अधिकृत साहको कुरा बुझ्दा मेयर र हाकिमबीच विवाद रहेको स्पष्ट बुझिन्छ ।
अधिकृत साह आफु आईतबारदेखि बिदामा रहेको बताए । उनले आन्तरिक विवादका कारण मेयरले फेसबुकमा अनर्गल लेखिरहेको उनको भनाई छ ।
पालिकामा मेयरको रुपमा उहाँ अर्को कार्यकाल छ, उनले भने, तर उहाँको नजरमा कुनै हाकिम राम्रो छैन् । यस विषयमा एसपी साहेब र सिडियो साहेबलाई सोध्दा पनि हुन्छ, उनले भने ।
पालिकामा मेयर र हाकिमबीच कुरा कुरा नमिलिरहेको कार्यालयका एकजना कर्मचारीले बताउँछन् । उनका अनुसार अधिकृत साह भंगहाबाट सरुवा गराउन काठमाडौं धाइरहेका छन् ।






