अभद्र व्यवहारको कसुरमा युट्युबर मनोज मानव उदयपुरबाट पक्राउ

सिरहा । युट्युबर मनोज मानव भनिने मनोजकुमार महतो फेरि पक्राउ परेका छन् ।
सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायविरुद्ध अपमानजनक, आधारहीन तथा भ्रामक सामग्री फैलाएर सामाजिक सद्भाव र शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोपमा उनी पक्राउ परेका हुन् ।
लहान नगरपालिका–२४ का महतोलाई साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विभिन्न उद्योगी, व्यवसायी, जनप्रतिनिधि, पत्रकार, नेता, राष्ट्रसेवक कर्मचारीलगायत व्यक्ति तथा समुदायविरुद्ध सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने मनसायले बिना प्रमाण, आधारहीन, तथ्यहीन तथा धम्कीपूर्ण सामग्रीहरू पोस्ट गरी सामाजिक सद्भाव र शान्तिमा खलल पार्ने कार्य गरेको आरोप महतोमाथि छ।
प्रहरीले उनीविरुद्ध कासुरमा जाहेरी दर्ता भई जारी भएको पक्राउ पुर्जीका आधारमा खोजतलास गर्ने क्रममा उदयपुरको त्रियुगा पुल पारीस्थित एक होटलमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको एसपी बासुदेव पाठकले जानकारी दिए ।
महतोसँग अटोमेटिक हतियार रहेको र आफू पूर्व जन–तान्त्रिकको लडाकु भएको भन्दै धम्की दिएको तथा उक्त हतियारको फोटो देखाएर केही व्यक्तिबाट आपराधिक लाभसमेत लिएको भन्ने सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
महतोमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महतो यसअघि पनि अभद्र व्यवहारको कसुरमा पक्राउ परेका थिए ।






