नेपाली पत्रकारिताका ‘शिखर पुरुष’ राजेश्वर नेपालीको निधन

जनकपुरधाम । प्रजातन्त्र तथा प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार एवं साहित्यकार राजेश्वर नेपालीको निधन भएको छ ।

नेपालीको आज बेलुका ८ः१० बजे जनकपुरधामस्थित म्याक्स अस्पतालमा निधन भएको उनका छोरा राघवेन्द्रप्रसाद साहले जानकारी दिए ।

नेपाल प्रेस युनियन, धनुषाका अध्यक्ष राजनकुमार सिंहले भने, “उहाँ यस क्षेत्रको शिखर पुरुष नै हुनुहुन्थ्यो, उहाँको निधनले पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।”

विगत १४ महिनादेखि बिरामी परेको नेपाली गत असोज १२ गतेदेखि ओछ्यान पर्नुभएको थियो । यसअघि उनलाई भारतको दिल्लीका विभिन्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आफ्नो जन्मदिनभन्दा सात दिनअघिको तिथिमा नेपालीको निधन भएको हो । जनकपुरधाम उपमहानगरपालिका–२३ को बेला गाउँमा बुबा रामदुलार साह र आमा इन्द्रमणि देवीबाट विसं २००२ भदौ १९ गते उनको जन्म भएको थियो ।

मध्यम वर्गीय परिवारमा जन्मिएका नेपालीले स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेपछि मिसन पत्रकारिताबाट आफ्नो पत्रकारिता जीवन सुरुआत गरेको थियो । उनले विसं २०१५ मा जानकी नौवमी कविता लेखेर र वाचन गरेर साहित्य लेखन सुरु गरेको थियो ।

त्यसपछि उनले देश र समाजको हितका लागि, अधिनायकवादका विरुद्ध, लोकतन्त्र, समाजवाद र समानताका लागि निरन्तर आफ्नो लेखनमार्फत आवाज उठाउँदै आएको थियो । वरिष्ठ पत्रकार नेपालीले २०१८ साल मङ्सिर २६ गतेदेखि पत्रकारिता सुरुआत गरेको थियो ।

नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधि र बलराम नायकलाई सोही दिन जनकपुरधामबाट पक्राउ गरिएको थियो । नेताद्वय पक्राउ परेको समाचार ‘नेपाल सन्देश’ पत्रिकामा लेखेर नेपालीले पत्रकारिताको सुरुआत गरेको थियो ।

उनी पछिल्लो लामो समयदेखि बाबासिर र प्रोस्टेट क्यान्सरबाट पीडित थिए । उनको विभिन्न आन्दोलनमा प्रहरीको लाठी चार्जबाट खाएको चोटले मेरुदण्डको हाडसमेत त्यतिबेला भाँचिएको थियो ।

प्रतिक्रिया