धनुषामा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत शिक्षक नियुक्ति

जनकपुरधाम । धनुषामा शिक्षक नियुक्तिमा विवाद देखिएको छ । जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक र जनप्रतिनिधिको मिलोमतोमा प्रक्रियाविपरीत नियुक्ति गरिएको आरोप लागेको छ ।

बटेश्वर गाउँपालिका–४ स्थित शिवशक्ति माविमा नवनियुक्त १० जना शिक्षकको वैधानिक नियुक्ति नरहेको भन्दै स्थानीयले नियुक्ति रद्द गर्न माग गरेका छन् । तर, प्रधानाध्यापक गुरुशरण केवटले नियुक्ति वैधानिक रहेको दाबी गरेका छन् । सबै प्रक्रिया पुर्‍याएर नियुक्ति गरिएको उनले बताए । केही स्थानीयले विद्यालयमा राजनीति गर्न खोजेको उनको आरोप छ ।

उनका अनुसार गएको वैशाख १० गते विद्यालय व्यवस्थापन समितिको बैठकले शिक्षक थप गर्ने निर्णय गरेको थियो । वैशाख १६ गते १० शिक्षकका लागि आवेदन माग गरियो । जेठ ५ गते जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको विज्ञ समूहले शिक्षक नियुक्ति गर्न अनुमति दिएको थियो ।

जेठ २९ गते जनकपुरमा आवेदक २७ जनाको परीक्षा लिइयो । कोरोना महामारीका कारण दुई समूह बनाएर परीक्षा लिइएको थियो । जेठ ३१ गते नतिजा प्रकाशन गरियो । असार १ गते छनोट भएका १० शिक्षक पदस्थापन भए ।

तर, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिले आफन्तलाई नै नियुक्त गरेको स्थानीय राजकिशोर यादवले आरोप लगाएका छन् । विद्यालयमा प्रधानाध्यापकका छोरा केतनशरण, भान्जा प्रेमप्रकाश कापर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद साहकी छोरी प्रियंकाकुमारी साह र समिति सदस्य हरि साहकी छोरी मञ्जु साहको नियुक्ति गरिएको छ ।

किर्ते गरी वडाध्यक्षको दाइलाई नियुक्ति
गत वर्ष औरही गाउँपालिका–२ को प्रवहा देउरी मावि प्रवहामा पनि किर्ते गरी नियुक्ति गरिएको आरोप लागेको थियो । स्थानीयले नियुक्ति बदरको माग गर्दै जिल्ला अदालतमा मुद्दा समेत दर्ता गराएका छन् । मुद्दाको टुंगो लागिसकेको छैन ।

स्थानीय जनार्दन भण्डारीका अनुसार ०७६ पुस ८ गते विद्यालयले कम्प्युटर विषयको शिक्षक माग गर्‍यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिएको थियो । पत्रपत्रिकामा विज्ञापन सार्वजनिक गरिएन । अरु कुनै माध्यमबाट पनि जानकारी गराइएन ।

पुस २८ ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवका जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्त गरियो । नियुक्तिलगत्तै अरु व्यक्तिलाई तत्काल थाहा नहोस् भनेर माघ ८ देखि उनलाई दुई महिना बेतलबी बिदा दिइयो ।

विद्यालयले शिक्षक माग गरेको पत्रको दर्ता नम्बर ०७६/७७ अन्तर्गत ६३ हो । तर, चलानी नम्बरमा सोही दर्ता नम्बरमा ‘आय व्यय सम्बन्धमा’ उल्लेख गरिएको छ । यसरी आवश्यक कागजात किर्ते गरी वडाध्यक्ष अमितले दाइ प्रविनलाई नियुक्त गराएको आरोप छ ।

विद्यालयका तत्कालीन प्रधानाध्यापक कारी यादव फस्ने डरले सरुवा गराए । कागजात मिलानमा केही त्रुटि देखिए पनि निष्पक्ष रूपमा नियुक्त गरिएको वडाध्यक्ष यादवको दाबी छ ।

“पालिकाको शिक्षा शाखासहितको सहभागितामा नियुक्ति गर्न समिति गठन भएको छ,” उनले भने, “नियुक्ति वडाध्यक्षको क्षेत्राधिकारमा पर्दैन ।” समितिले शिक्षक नियुक्ति गर्न नसक्दा बहुमतको आधारमा गरिएको र पालिकाको कार्यालय तथा टोल–टोलमा विज्ञापन गरेको यादवले बताए ।

दर्जनौँ विद्यालयमा अवैधानिक नियुक्तिको गुनासो
जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका प्रमुख ईश्वरी ज्ञवालीले दर्जनौँ विद्यालयमा अवैधानिक नियुक्तिको गुनासो आएको बताए ।

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयले गत साता समन्वय इकाइलाई समेत अवैध नियुक्तिबारे छानबिन गर्न पत्राचार गरेको । छानबिनको जिम्मा कर्मचारीलाई दिइसकेको र केही दिनभित्रै सुरु हुने उनको भनाइ छ ।

धनुषाको नगराईन नगरपालिकामा सबैभन्दा बढी प्रक्रिया नपुर्‍याई नियुक्ति गरिएको गुनासो आएको उनले जानकारी दिए । गएको असार ३० गते नै कार्यालयले नगराईन र धनौजी गाउँपालिकासँग विवरण मागेको छ ।

पालिकालाई पत्राचार
गुनासो बढेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ धनुषाले असार ३० गते जिल्लाका सबै पालिकालाई पत्राचार गरेको छ । कार्यालय प्रमुख ज्ञवालीको किर्ते हस्ताक्षर प्रयोग गरिएको पाइए कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया
कमलेश ठाकुर

उहाँ नागरिक मिररको प्रदेश २ प्रतिनिधि हुन् । मोबाईल नम्बर : ९८१२१११७१८