बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अवस्था लथालिंग : अध्यक्ष शीतल साहलाई कार्यालय प्रवेशमा निषेध

जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहु पूर्वेलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय भएको छ। परिषद्का कर्मचारीहरुले उनलाई कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।
कर्मचारीले ११ बुंदे कारण देखाउदै अध्यक्ष साहलाई गत असोज २ गतेदेखि नै कार्यालयमा प्रवेश गर्न रोक लगाएको छ । उनीहरुले अध्यक्ष उपर ११ बुँदे आरोप लगाउँदै बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । नेपालीहरुको महान पर्व वडादशैं जस्तो पर्वको साथै कर्मचारीहरुको २०८० साल श्रावण, भदौ, असोज र चाडपर्व खर्च दिनसमेत रोक लगाएपछि आक्रोशित कर्मचारीहरुले यस्ता निर्णय गरेका हुन् ।
परिषद्मा रहेको २२ जना कर्मचारीहरुले संयुक्त रुपमा यो निर्णय गर्दै अध्यक्षले प्राविधिक कर्मचारीहरुको म्याद थपको लागि पहल नगर्दा आ.व.२०७९।०८० मा नेपाल सरकारबाट स्वीकृत पुँजिगत बजेट १ करोड ४४ लाख रुपैयाँ फ्रिज भएको आरोप लगाएका छन् । अध्यक्ष साहले व्यक्तिगत आम्दानी लिने मनशायले कार्यालयको निमित्त कार्यकारी निर्देशकलाई अनाहकमा दबाब दिरहेको उनीहरुले आरोप लगाएका हुन् ।
जनकपुरधामस्थित जानकी मन्दिर अगाडी डिजीटल डिस्प्ले बोर्ड जडान गरी सोको विद्युत लाइन बृहत्तरबाट लगाई बोर्डको जडान वापतको भुक्तानीको लागि आर्थिक प्रशासनलाई दबाब दिँदै सोबाट आउने आम्दानी अध्यक्षको छोराले लिने गरेको विज्ञप्तिमा उल्लेख छ । अध्यक्षको जेठोे छोरा रोशनले जडान गरेको सो बोर्डमा अध्यक्षले नियम विपरित मीटर जडान गरी परिषद्लाई आर्थिक भार थपिदिएको विज्ञप्तिमा लेखिएको छ । परिषदले विद्युतको लाइन काट्न प्राधिकरणलाई पत्राचार गरेतापनि विद्युतीय मिटरको लाइन अहिलेसम्म काटिएको छैन् ।
कर्मचारीहरुले जारी गरेको संयुक्त रुपमा निर्णय गर्दै जारी गरेको सो विज्ञप्तिमा परिषद्को अध्यक्षमा नियुक्त भए आएदेखि नै निमित्त कार्यकारी निर्देशक र कर्मचारीहरुसँग लफडा गर्ने गरेको बताइएको छ । गत आ.ब.को बजेट उनकै कारण फ्रिज भएको बताउँदै यस आ.ब.मा पनि आएको बजेट अध्यक्षले कार्यकारीणी समितिको बैठक बसाउन नसक्दा हाललसम्म बाँडफाँड नभएको कर्मचारीहरुको आरोप छ ।
अध्यक्ष साहले सरकारी गाडीको समेत दुरुपयोग गरेको परिषद्का एकजना कर्मचारी बताउँछन् । उनका अनुसार कार्यालय प्रयोजनको लागि अध्यक्ष साहलाई उपलब्ध गराईएको बा २ झ ३०५३ नम्बरको चारपाँग्रे गाडी आफ्नो नीजि र रेडियो प्रयोजनमा प्रेस नै लेखेर प्रयोग गर्दै आएको छ । कार्यालयमा २ जना स्थायी चालक भएपनि उनले आफै चालक राखेर सरकारी गाडीको दुरुपयोग गरिरहेको बताईएको छ । उनले स्थायी चालकलाई कामविहीन बनाएर बाहिरको चालकबाट भर्ति गरी निजी काममा गाडी प्रयोग गरेर उनको नामबाट पनि अनियमितता गर्ने गरेको जनाइएको छ । परिषद्लाई सो गाडी संघीय खानेपानी मन्त्रालयले कार्यालयलाई उपलब्ध गराएको छ ।
कानून सम्बतः अध्यक्षले तलब भत्ताको सुविधा नपाउँने प्रावधान रहेपनि कर्मचारीहरुलाई तलब भत्ता उपलब्ध गराउन निमित्त कार्यकारी निर्देशकलाई पटक पटक दबाब दिँदै आएको बुझिएका छ । र कर्मचारीले उनलाई कानून मिचेर सो तलब भत्ता उपलब्ध नगराएपछि कर्मचारीको पनि तलब गराएको उनीहरुको भनाइ छ ।
साउन महिनादेखि नपाएको आक्रोशित कर्मचारीहरुले अध्यक्षको कार्यकक्ष र क्वाटरमा समेत ताला लगाएका छन् । परिषद्का २२ जना कर्मचारीमध्ये २१ जना कर्मचारी उनको विरोधमा छ । संघीय पर्यटन तथा संस्कृति मन्त्रालयले कर्मचारीहरुलाई तलव दिने निर्णयमा पुगिसकेको बेला अध्यक्ष साहले रोक्न लगाएको आरोप कर्मचारीहरुले लगाएका छन् ।
कर्मचारीहरुले जारी गरेको सो विज्ञप्तिमा कार्यालयको ईमेल पनि आफ्नो कब्जामा राखेको जनाएको छ । सो कारण विभिन्न निकायबाट आएको चिट्ठी पत्रहरुको प्रतिकृया दिन वा सो सम्बन्ध सूचित हुन बञ्चित भएको विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीहरुले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा अध्यक्ष शितल साह पूर्वेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व पदाधिकारी र कर्मचारीहरुमाथि ३५ वटा मुद्दा दर्ता गराएको जनाएको छ । उनले अख्तियारमा दिएको उजुरीमा पूर्व अध्यक्षहरुले कर्मचारी समायोजनमा अनियमितता गरेको आरोप छ ।
जनकपुरधाममा घर भएका अध्यक्षले आवाससहितको सुविधा नपाउने नियम रहेतापनि अध्यक्ष साहले भने नियम विपरीत यात्री निवास परिसरमा रहेको पर्यटन सूचना केन्द्रलाई हटाएर आवास बनाएर मासिक ८० हजार रुपैयाँको आर्थिक क्षति बृहत्तरलाई भइरहेको जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बृहत्तर जनकपुर क्षेत्र परिसदमा निजी स्तरबाट सञ्चालित होटेलको २ लाख ५० हजार रुपैयाँको निजी खर्चको बिल परिषदबाट भुक्तानीका लागि कर्मचारीहरुमाथि चर्को दबाब दिएको जनाएको छ । परिषदका अध्यक्षमा नियुक्त भएदेखि नै अध्यक्ष साहले यात्री निवासका सञ्चालकसित ६० लाख रुपैयाँ र बृहत्तरका कर्मचारीहरुसित १० लाख रुपैयाँ अनुचित माग गरेको आरोप लगाएका छन् ।
परिषद्का अध्यक्ष साहले अनियमितताका लागि जथाभावी समस्या उत्पन्न गर्ने र आर्थिक लेनदेनका लागि दबाब दिने गरेकाले कार्यकारी निर्देशक र लेखापाल भाग्ने गरेको कर्मचारीहरुको भनाइ छ । सोही दबाकको कारण कर्मचारीहरु फस्ने डरले सशंकित बनेका छन् ।








