रावण बध र लंका दहनसँगै सकियो जनकपुरधाममा दसैंको रौनक(फोटोफिचर)

जनकपुरधाम । जनकपुरधाममा रावणको बध भएसँगै दसैंको रौनक(रमझम) सकिएको छ । विजयादशमीको अवसरमा यहाँ रावण बध र लंकादहन गरिएको छ ।

तामझामका साथ जनकपुरधाममा घटस्थापनादेखी सुरु भएको दसैंको मेला मंगलबार सकिएको हो । विजयदशमीको अन्तिम दिन मंगलबार साँझ रावणको प्रतिमा निर्माण गरी रावणलाई ‘बध’ गरिएको हो । प्रत्येक वर्ष आयोजना हुने रवण बध कार्यक्रम यस वर्ष पनि धुमधामका साथ सम्पन्न भएको छ । यो कार्यक्रम जनकपुरधाममा विजयादसमीको अवसरमा करिब एक दशक भन्दा बढी सयमदेखि आयोजना हुँदै आएको छ।

प्रतिकात्मक रुपमा बनाएको मानवरुपी भगवान रामले रावण बध र हनुमानले लंकादहन गरे । जनकपुरस्थित धनुषसागर पोखरीको पूर्वी डिलमा रावण, कुम्भकर्ण र मेघनाथको प्रतिमामा आगो लगाइयो । रावण, कुम्भकर्ण र मेघनाथ बध भएको खुशियालीमा पटाका समेत पड्काइएको छ ।

भगवान रामको ससुराली मानिने जनकपुरधाममा मेला भर्न यस वर्ष विभिन्न स्थानबाट सर्वसाधारणको घुइँचो लागेको थियो । १२ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गर्दै आफ्नी श्रीमती सीतालाई रावणको कब्जाबाट मुक्त गराउन सफल भएका थिए। त्यसकै खुशियालीमा जनकपुरधाममा विजयादशमीको दिन रावण वधका लागि विशेष कार्यक्रमको आयोजना हुँदै आएको छ । सोही अवसरमा भगवान रामको डोलालाई नगर परिक्रमा गराई विजयउत्सव जूलूस समेत निकालिएको छ ।

महावीर युवा कमिटीको आयोजनामा पछिल्लो १४ वर्षदेखि रावणवध कार्यक्रम भइरहेको छ । यस वर्ष पनि राम मन्दिरका पुजारी राम गिरिले नै रावण वध गरेका छन्।

सो अवसरमा करिब दश हजारभन्दा बढी दर्शकका साथै जनकपुरधाम उपमहानगरपालिकाका मेयर, उपमेयर, धनुषाका प्रमुख जिल्ला अधिकारी लगायतका सुरक्षा निकायका पदाधिकारीहरु उपस्थित थिए ।

प्रतिक्रिया