जन्मकैद सजाय पाएपछि मधेशका साँसद शर्माले भने–आत्मसमर्पण गर्दिनँ

जनकपुरधाम । महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका मधेश प्रदेशका साँसद अभिराम शर्माले नश्लीय र अन्यायपूर्ण दमनका अगाडी आत्मसमर्पण नगर्ने जनाएका छन् ।
मधेश आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरमा सशस्त्र प्रहरीका असई थमन विकको हत्या भएको थियो । उनको हत्या अभियोगमा साँसद शर्मासहित ७ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।
यो पनि : थमन विकको हत्या मुद्दामा लोसपा सांसद शर्मासहित ७ जनालाई जन्मकैद
साँसद शर्मा दोस्रो पटक प्रदेश साँसदमा निर्वाचित भएका हुन् । उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका नेता पनि रहेका छन् । अदालतको फैसलापछि उनी सम्पर्क विहिन छन् ।
साँसद शर्माले अदालतको फैसलालाई चुनौती दिँदै आज सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ती सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘म नश्लीय र अन्यायपूर्ण दमनका अगाडी आत्मसमर्पण गर्दिन, बरु मधेशी जनताको मुक्ति, मधेश अधिकारका लागि अन्तिम दमसम्म लड्ने प्रणका साथ डटिरहनेछु ।’
उनले अदालतले आफूसहित आन्दोलनका नेता कार्यकर्ता विरुद्ध गरेको फैसला दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेका छन् । मधेशी जनता र देशभन्दा आफ्नो कुनै स्वार्थ नरहेको र त्यसका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको उनको भनाई छ ।
‘सरकार मात्र होइन् राज्यका सम्पूर्ण अंग जुन नश्लिय चरित्रको छ, त्यसको परिवर्तनको निम्ति हामी आन्दोलनमा होमिएका थियौं’, विज्ञप्तीमा उनले भनेका छन्, ‘आन्दोलनमै छौं । तर आन्दोलनबाट विमुख गराउने, निरुत्साहित पार्ने षड्यन्त्र गरिदैछ । तर म हार मान्नेवाला छैन ।’
आन्दोलन बखतका टिकापुर,गौर जस्ता दुर्घटनामा आन्दोलनका अगुवा नेताहरुलाई फसाउन खोजिएको साँसद शर्माको आरोप छ ।
यो पनि :
- थमन विकको हत्या मुद्दामा एमालेका निलम्बित सांसद कोइरीले पाए सफाइ
- असई थमन बिक हत्या प्रकरणमा अदालतको फैसलाप्रति जनमत पार्टीको असहमति








