अयोध्यामा राम मन्दिर उद्घाटनको लागि ससुराली जनकपुरधामबाट ११ सय भार जाँदै, तस्वीरहरु

जनकपुरधाम । भारतको अयोध्यास्थित राम जन्मभूमीमा निर्माणाधीन श्रीराम मन्दिरमा आगामी जनवरी २२ तारिखमा हुने प्राणप्रतिष्ठा कार्यक्रमका लागि जनकपुरधामबाट आज भार पठाइँदैछ ।

मैथिल परम्पराअनुसार छोरीको घरमा हुने शुभ कार्यमा माइती पक्षबाट विशेष रुपमा कोसेली पठाईने परम्पराअनुसार राम मन्दिर उद्घाटनका अवसरमा ससुराली जनकपुरधामबाट ११ सय भार त्यसतर्फ पठाउन लागिएको जानकी मन्दिरका छोटे महन्थ रामरोशन दास वैष्णवले जानकारी दिएका छन् ।

‘घरबासक भार’ अर्थाक भगवानको नयाँ घरमा गृह प्रवेशको लागि यहाँबाट भार जान लागेको र भार लिएर जनकपुरधामबाट करिब ३ सय जनाको टोली त्यहाँ जान लागेको उनले बताए । उनका अनुसार ११ सयभन्दा बढी बाँसबाट बनाइएका चंगेरमा भार पठाउने र त्यसको सम्पूर्ण तयारी पूरा भएको समेत बताए । यहाँबाट ११ सय भार लगिदैछ उनले भने, वीरगंजसम्म पुग्दा भार थपिन सक्ने अनुमान छ । रुटमा पर्ने नगरपालिकाहरुबाट भार थपिने कुरो छ ।

भारमा काजु किसमिस, पञ्चमेवा, गरगहना, चाँदीको खराउ, फलफुल, खजुरीया, परुकिया, दहि चुरा, अदौरी, दनौरी, चामल, दाल, साडी, धोती इत्यादी रहने बताइएको छ ।

भार लिएर जानकी मन्दिरका छोटे महन्त दासको अगुवाईमा मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव, जनकपुरधामका नगर प्रमुख मनोज साह, यहाँका साधुसन्तहरुसहितका व्यक्तिहरु गईरहेको छ । भारसँगै जनकपुरधामबाट मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव पनि वीरगञ्जसम्म जान लागेको छ। अयोध्या जानको लागि गाडीहरुलाई पनि विशेष रुपमा सजाइएको छ।

अयोध्या लगिने भार मध्ये बढी भार जानकी मन्दिरले तयार पारेको छ भने केही स्थानीय जनकपुरधामबासीले पनि दिएका हुन् । तयारी भारहरु रथ लगायतका विभिन्न गाडीहरुमा लगिदैछ । जनकपुरधामबाट पाँच वटा बस र करिब २० वटा सानो गाडीमा गईरहेको छ ।

भार लिएर जनकपुरधाम धनुषा पदमार्गको परिक्रमा गर्दै राम मन्दिरको अगाडी हुँदै जलेश्वर जाने र त्यहाँबाट हुलाकी सडक हुँदै, सम्सी कन्मा, मलंगवा, सिमरौन, कलैया, गढीमाई हुँदै विरगंजमा रात्री बास बस्ने छोटे महन्त दासले जनाउनुभएको छ । यस्तै, शुक्रबार रक्सौल बोर्डर हुँदै बेतिया, गोरखपुर र हुँदै अयोध्या पुग्ने उनले बताए ।

उहाँले शनिबार ६ तारिक बिहान ९ बजे भार टाउको राखेर मन्दिरमा गएर राम जन्मभूमी ट्रष्टको महासचिव लगायतका पदाधिकारीलाई हस्तान्तरण गर्ने र राम मन्दिर दर्शन गर्ने बताए । दर्शन गरेकै दिन जनकपुरधामकालागि अयोध्याबाट फर्किने कार्यक्रम रहेको बताइएको छ ।

मन्दिर उद्घाटनमा लगिने भारतले जनकपुरधाम र अयोध्याबीच प्रागड्य सम्बन्ध मजबुत हुने छोटे महन्त दासले बताए । उनले सदीयौदेखिको दुबै देशबीचको सम्बन्धमा अझै मजबुती थपिने बताए । यसले विश्वजगतमा छुट्टै सन्देश जानुको साथै पर्यटन प्रबद्र्धनमा पनि टेवा पुने विश्वास उनले व्यक्त गरे ।

यसअघि निर्माणाधीन राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिने दिन अभिषेक गर्न नेपालबाट जल पठाइसकेको छ । यहाँको नदीहरुबाट संकलन गरिएको जलको विशेष महत्व भएको हुनाले अभिषेक गर्न यहीबाट जल पठाइएको छोटे महन्त दासले बताए । सो जल विश्व हिन्दू परिषद् नेपालको नेतृत्वमा जनकपुरधामबाट संकलन गरी अयोध्या लगिएको हो ।

अयोध्यामा मन्दिर बन्न थालेपछि गत फेब्रुअरीमा नेपालको कालीगण्डकी किनाराबाट दुईवटा शिलाहरू अयोध्या पु¥याइएका थियो । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर–६ ठूलोबगरस्थित कालीनदी किनाराबाट १४ र २७ टनका दुईवटा शिलाहरू जनकपुरधामस्थित जानकी मन्दिरमार्फत अयोध्या पठाइएको थियो ।

प्रतिक्रिया