भक्तजनले भरियो जानकी मन्दिर
![](https://nagarikmirror.com/wp-content/uploads/2024/01/Janaki-mandir-bhid2-scaled.jpg)
जनकपुरधाम । विश्वभरीका हिन्दूहरुको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिर पर्यटकले भरिभराउ भएको छ ।
पुस महिनायता मन्दिरमा पर्यटकको सङ्ख्यामा वृद्धि भएको जानकी मन्दिरका पुजारी मनोज दास बताउछन् । उनले प्रत्येक वर्ष पुस महिनामा जानकी मन्दिरमा दर्शन गर्ने दर्शनार्थीको भीडभाड हुने गरेको बताए ।
मन्दिरमा दैनिक सयौँको सङ्ख्यामा नेपालका साथै छिमेकी मुलुक भारतको विभिन्न राज्यबाट पर्यटक आउने गरेको पुजारी दासले जानकारी दिए । अहिले पर्यटकको भीड जानकी मन्दिरपछि राममन्दिर, लक्ष्मणमन्दिर, विवाह मण्डपका साथै धनुषाको धनुषाधाम रहेको धनुषा मन्दिरमा देखिन्छ ।
![](http://nagarikmirror.com/wp-content/uploads/2024/01/Janaki-mandir-bhid3-1024x576.jpg)
पर्यटक नेपालका साथै छिमेकी मुलुक भारतका दक्षिण भारत, राजस्थान, गुजरात, महाराष्ट्र, हरियाणा, दिल्ली, बिहार, उत्तरप्रदेश, मध्येप्रदेश, उत्तराखण्डलगायत राज्यबाट पर्यटक जनकपुरधाम आउने गरेका छन् ।
काठमाडौँ इन्द्रचोक बस्ने विजयमान श्रेष्ठले पहिलो आज पटक जनकपुरधामस्थित जानकी मन्दिर धुम्न आएको बताए । “विवाह पञ्चमी महोत्सवबारे सञ्चार माध्यममा हेरेपछि जानकी मन्दिर घुम्न आएको छु”, उनले भने, “श्रीमती छोरा, छोरी गरी परिवारका १२ सदस्यसहित जनकपुरधाम घुम्न आएको छु ।”
![](http://nagarikmirror.com/wp-content/uploads/2024/01/Janaki-mandir-bhid-1024x576.jpg)
भारतको मध्य प्रदेशको अशोकनगर जिल्लाबाट गाउँको ६० जनाको समूहका जानकी मन्दिर घुम्न आएको दर्शनार्थी मनोज शर्माले बताए । उनले काठमाडाँैको पशुपतिनाथको दर्शनपछि जानकी मन्दिर दर्शन गर्न आएको जानकारी दिए ।
जानकी मन्दिरको दर्शन गरेपछि आफू धन्य भएको बताउँदै शर्माले माता सीताको जन्मभूमि तथा भगवान् रामको ससुराली दर्शन गर्नाले पुण्य प्राप्त हुने विश्वास व्यक्त गरे । “यहाँबाट गएपछि गाउँका अन्य मानिसलाई पनि जानकी मन्दिर घुम्न आउन सुझाव दिन्छु”, शर्माले भने, “जनकपुरधाममा दुई दिन बसेर यहाँका अन्य धार्मिकस्थलमा घुमघाम गर्दै पूजाअर्चना गर्ने कार्यक्रम छ ।”
भारतको १२ वटै ज्योतिर्लिङ्ग (सोमनाथ, मल्किार्जु स्वामी, महाकालेश्वर, ऊँकारेश्वर, केदारनाथ, भीमाशङ्कर, काशी विश्वनाथ, त्रयम्बकेश्वर, वैधनाथ, नागेश्वर, रामेश्वरम र घृष्णेश्वर मन्दिर) को पैदल यात्रा गरेका विजय दास पनि यतिबेला जनकपुरधाम आइपुगेको छ । भारत सिवान जिल्ला गोठनी प्रखण्डका दास अयोध्याबाट जनकपुरधाम पनि पैदल यात्रा गरेर यहाँ आएको हो । यहाँबाट काठमाडौँको पशुपतिनाथको दर्शन गर्न पनि पैदल नै जाने उनले बताए ।
![](http://nagarikmirror.com/wp-content/uploads/2024/01/Janaki-mandir-bhid1-1024x576.jpg)
दास १७ महिनादेखि निरन्तर पैदल यात्रामा छन् । गोमुखबाट गङ्गा जल भरेर १२ वटै ज्योतिर्लिङ्गमा अर्पण गर्ने अठोट लिएर पैदल यात्रामा रहेको उनी बताउँछन् । सोही क्रममा जानकी मन्दिरको दर्शन गर्दै काठमाडौँ हिँड्ने योजना रहेको दासको भनाइ छ ।
अहिले जनकपुरधाममा भारतीय र नेपाली पर्यटकको आउजाउ बढेको होटेल व्यवसायी अभिषेक भुनझुनवालाले बताए । उनका अनुसार दैनिक करिब आठ सयको सङ्ख्यामा जनकपुरधाम आउने गरेका छन् । सीताको जन्मभूमि रहेको कारणले धार्मिक पर्यटक जनकपुरधाम अत्यधिक आउने गरेका छन् ।