सिरहा नगरस्तरीय फुटबल प्रतियोगीता उपर ठेंङ्गहीको कब्जा

उत्कृष्ट खेलाडी उत्पादन गर्न प्रेरित गर्छौ : नगरप्रमुख यादव

सिरहा । सुर्य नारायण सत्य नारायण यादव मोरवैता यादव बहुमुखी क्याम्पस सिरहाको खेल मैदानमा संचालित सिरहा नगरस्तरीय फुटबल प्रतियोगीताको प्रथम उपाधी उपर सिरहा नगरपालिका ९ ठेंङ्गहीले कब्जा जमाएको छ ।

सिरहा नगरपालिका–७ लाई शुन्यको विरुद्ध १ गोल गर्दै सिरहा नपा ९ ठेंङ्गहीले प्रथम उपाधी जित्न सफल भएको सल्हेश युवा क्लब सिरहाका अध्यक्ष राजीव यादवले बताए । प्रथम स्थान हासिल गर्ने टिमलाई मेडल सहित ५० हजार नगद र दोश्रो स्थानमा पर्ने टिमलाई मेडलसँगै २५ हजार नगद प्रदान गरिएको उनले जनाए ।

खेलको हाफ टाइम पछि सिरहा नपा ९ठेंङ्गहीका अमोद कामतिले सिरहा नपा ७ विरुद्ध १ गोल गर्न सफल भएको थियो । खेलकै क्रममा समान्य विवाद हुँदा खेलाडीहरु रुष्ट भएपछि खेल रोकिएको थियो । विवादलाई साम्य पार्दै सहज वातावरण बनाउन गरिएको प्रयास असफल भएपछि आयोजकले सिरहा नगरपालिका ९ठेंङ्गही टिमलाई प्रथम उपाधीका लागि जित घोषणा गरे ।

प्रथम उपाधीका लागि जित घोषणा गरेपनि विवादले रुष्ट भएका दुबै तर्फबाट खेलाडीहरु मध्ये अधिकांशले मेडल र प्रमाण पत्र बुझ्न मञ्चमा गएन् । उपाधी लिन नाम घोषणा भइरहेकै अवस्थामा उनीहरु आ–आफ्नो घरतिर लागेका थिए ।

आयोजकको व्यवस्थापनको प्रभावले फाइनल खेल राम्रै भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार खेल मैदानको चारैतिर दर्शकले घेरिएको थियो । दुबै टिमको उत्साहित खेल देखेर दर्शकहरु दंग परेको दाबी गरिएको छ ।

सिरहा नगरपालिकाको आर्थिक सहयोगमा सल्हेश युवा क्लबले संचालन गर्दै आएको सिरहा नगरस्तरीय फुटवल प्रतियोगीतामा सिरहा नपाका विभिन्न वडाहरुले भाग लिएका थिए । २०८० पुस २१ देखि संचालित रहेको उक्त प्रतियोगीतामा सिरहा नपाको २० वटा वडाका खेलाडीहरुले भाग लिएको आयोजकले बताए ।

उत्कृष्ट खेलाडी उत्पादन गर्न प्रेरित गर्छौ : डा. नगरप्रमुख यादव

खेल जगतमा रुची राख्नेहरुलाई राम्रो र अनुशासित खेलाडी बन्न नगरपालिकाले सक्दो सहयोग गर्ने सिरहा नगरपालिकाका नगरप्रमुख डा.नविन यादवले बताए । राम्रो र अनुशासित खेलाडी पहिचान गर्नका लागि नगरस्तरीय फुटबल प्रतियोगीता गराइएको उनले प्रष्टाए ।

२२ वटै वडालाई लक्षित गरेर संचालन भएको नगरस्तरीय फुटबल प्रतियोगीताबाट राम्रो र अनुशासित खेलाडी पहिचान गरी छनौट गरेर आउने दिनमा हुने प्रदेश तथा राष्ट्रिय स्तरको खेलहरुमा सहभागी लिन अवसर प्रदान गर्ने उनले दाबी गरे ।

खेल कार्यमा लागेपछि व्यक्तिको पहिचानसँगै गाउँ, वडा, नगर, देशको पहिचान समेत चुटेको भन्दै उनले खेल कार्यमा लाग्न युवाहरुसँग आग्रह गरे ।

स्वास्थ्यको दृष्टिले पनि खेल व्यक्तिका लागि उत्तम भएको उनले प्रष्टाए । लागुऔषध तथा अन्य कुलतजन्य कार्यमा लाग्नु भन्दा खेल तथा अन्य रचनात्मक कार्यमा लाग्न उनले युवाहरुसँग आग्रह गरे । खेल तथा अन्य व्यक्ति लक्षित रचनात्मक कार्यतिर नगरपालिका केन्द्रित भएको उनको दाबी छ ।

उनले दाबी गरे अनुसार विकास, शिक्षा, खेल, कृषि, स्वास्थ्य तथा मानवीय जीवनमा आइपर्ने अन्य आवश्यक विषयलाई विषेश प्राथमिकतामा राखेर योजना निर्माण तथा त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिएर अघि बढ्ने उनले प्रतिबद्धता जनाए ।

नगर कार्यपालिकाले लिने हरेक नीतिलाई प्रशासनिक तवरबाट सहज, व्यवस्थित र त्यसको प्रभावकारी कार्यान्वयनमा सहयोगकारी भुमिका निर्वाह गर्न तयार रहेको प्रमुख प्रशासकिय अधिकृत बलिराम यादवले बताए । सिरहा नगरको चौतर्फी विकास हाम्रो साँझा उदेश्य रहेको उनले प्रष्ट पारे ।

प्रतिक्रिया