केन्द्रकाे राजनीतिक रस्साकस्सीमा के हाेला मधेशकाे सत्ता ?

काठमाडाैँ । कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएसँगै मधेश प्रदेशकाे समेत सत्ता फेरबदल हुने निश्चित रहेकाे छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, जसपा र जनमत सहभागी हुने भएपछि प्रदेशकाे समिकरणबारे छुट्टाछुट्टै अडकलबाजी हुँदै छ ।
यता मधेशमा भने जसमा नेतृत्वमा लाेसपा, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसकाे सरकार पुन परिवर्तन हुने आशंका गरिएकाे छ ।
यसअघि एमाले सरकारबाट बाहिरिएपछि गत जेठ ३० गते मुख्यमन्त्री यादवले दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यस्तै जनता समाजवादी पार्टी (जसपा) सँग टकरावका कारण माघ ३० मा जनमत सरकारबाट बाहिरिएपछि १३ महिने कार्यकालमा मुख्यमन्त्री यादवलाई तेस्रो पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको थियाे ।
स्राेतका अनुसार मधेशकाे समेत राजनीतिक उतारचडाव हुने बताइएकाे छ । मधेशका मुख्यमन्त्री सराेज कुमार यादवले भने यसमा जसपाकाे आधिकारीक निर्देशन कुरीरहेकाे स्राेतले नागरिक मिररलाई बताएकाे छ । ‘मधेशकाे सत्तामा कांग्रेसका मन्त्री बाहिरीने भने निश्चित छ तर केन्द्रकाे सरकार निर्माण भए लगत्तै मधेशकाे सत्ताबारे सर्कुलर हुन्छ’ स्राेतले बताए ।
संविधानको धारा १८८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिन भित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेकाे छ।
यद्यपी सरकारलाई कांग्रेसकाे २२ सिट बाहिरिए पनि कुनै अप्ठ्यारो भने पर्दैन । मधेस प्रदेशमा जनमत पार्टीका १३ जना सांसद छन् भने एमालेका २३ संसद रहेकाे छ ।
जनमत बाहेक सरकारलाई प्रदेश सभाका १० पार्टी र तीन जना स्वतन्त्र सांसदले समर्थन दिएका छन्। जस अनुसार सरकारकाे रस्साकस्सिमा त्यस्ताे ठुलाे अफ्टेराे नपर्ने विश्लेषकहरुकाे भनाई छ ।
मधेश प्रदेश सभामा कुन दलकाे कति सिट :
- नेकपा (एमाले) का २३,
- नेपाली कांग्रेसका २२,
- जसपाका १८,
- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ९,
- नेकपा (माओवादी केन्द्र) का ९,
- नेकपा (एकीकृत समाजवादी) का ७,
- नेपाल संघीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एक/एक जना सांसद छन्।
- प्रदेश सभामा तीन जना स्वतन्त्र सांसद छन्।






