नयाँ सत्ता गठबन्धनमा ३ जना मन्त्रीहरूले आज शपथ लिने

नयाँ सत्ता गठबन्धनका तीन जना नयाँ मन्त्रीहरू शपथ लिने भएका छन् ।

सोमबार बिहान बसेको सत्ता गठबन्धनको बैठकले एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

उनका अनुसार अरू शीर्ष नेताहरू मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुनेछन्।

पदम गिरी, तामाङ नुवाकोट-१ र डीपी अर्याल रास्वपाबाट सामानुपातिकमा निर्वाचित सांसद हुन्। यसअघि माओवादीबाट पुन र रास्वपाबाट सभापति रवि लामिछाने आजै सरकारमा सहभागी हुने तयारी भएको थियो।

तर मन्त्रालयको भागबण्डा र मन्त्रीहरूको वरियता नटुंगिएसम्म शीर्ष नेताहरू सहभागी नहुने निर्णय भएपछि यी तीन नेता सरकारमा सहभागी हुन लागेका हुन्। यी तीन मन्त्रीको शपथ आजै हुने पुनले जानकारी दिए।

प्रतिक्रिया