दोस्रो पटक कृषि मन्त्रालल सम्हाल्दै ज्वालाकुमारी साह

काठमाडौँ । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले किसानका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताएको छ ।
कृषि मन्त्रालयमा आज पदबहाली गर्दै उनले किसानको समस्या समाधान गर्न नसके कुर्सीमा बस्नुको औचित्य नहुने बताईन । मन्त्री साहले दूध किसानको बाँकी रकम समयमै भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री र कर्मचारीको संयुक्त प्रयासबाट मात्रै सरकारले लिएको लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ । उहाँले सकारात्मक कामको पक्षमा आफू सधैँ कर्मचारीको साथमा रहेको उल्लेख गर्दै सेवा प्रवाहमा ढिलाइ गरे आफूलाई सह्य नहुने बताईन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ज्वालाकुमारी साह दोस्रो पटक कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी प्राप्त गरेकी छिन् । यसअघि उनले २०७९ माघ ३ गते कृषि मन्त्रालय सम्हाल्नुभएको थियो । सांसद साहको जन्म २०३८ कात्तिक ११ गते करैयामाई गाउँपालिका–४, लौतनमा भएको थियो । उनको शैक्षिक योग्यता स्नातकसम्म रहेको छ ।
माओवादी जनयुद्धमा भूमिगत भएर राजनीति गर्नुभएकी साह विद्यार्थी र महिला सङ्गठन हुँदै पोलिटब्युरो सदस्यको जिम्मेवारीमा पुगे । विसं २०६४ मा सम्पन्न संविधानसभा निर्वाचनबाट समानुपातिकतर्फ सदस्य बन्नुभएको उनी एकपटक २०६७ मा भूमिसुधार राज्यमन्त्री र २०६८ मा पर्यटन राज्यमन्त्री बनिन् । पछिल्लोपटक केपी ओली नेतृत्वको सरकारमा १३ दिनका लागि कृषिमन्त्रीसमेत बनिन् ।
विसं २०७० मा उनीले माओवादी केन्द्रीय सदस्य र पर्सा जिल्ला इञ्चार्ज भएर काम गरिन् । विसं २०७१ मा पार्टी पोलिटब्युरो सदस्य रहनुभएको बारा जिल्ला इञ्चार्जको जिम्मेवारी पाईन् । उनी २०७२ सालमा पार्टीको महिला सङ्गठनमा केन्द्रीय उपाध्यक्षसमेत बनिन् । २०७४ मा मधेस प्रदेशको प्रदेशसभामा निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित प्रदेश सदस्य बनिन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ मा उनी प्रत्यक्ष निर्वाचित भईन् ।






