अब म कहिल्यै मन्त्री बन्दिन : राजेन्द्र महतो

काठमाडौँ। बहुल राष्ट्र निर्माणका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति कसैले रोक्न नसक्ने र बहुल राष्ट्र निर्माण भइ छाड्ने दावी गरेका छन् । विगतका आन्दोलन मोर्चाको शैलीले भएको र आफू पनि त्यसमा लागेको बताउँदै उनले त्यसमा त्रुटि भएको स्वीकार गरे । अब त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले बताए ।
नेपालमा पटक–पटक आन्दोलन भएपनि सफल किन भएन भन्ने विषयमा गम्भीर छलफल गरेर यो अभियानमा लागेको बताउँदै महतोले क्रान्ति सफल बनाउन जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए ।
सन्चारकर्मी तथा बुद्धिजीवीसँग बुधबार छलफल गर्दै उनले आफू पाँचपटक मन्त्री भइसकेको र अब जीवनमा मन्त्री नबन्ने भनी कसम खाएको बताए । उनले अब आफूले पाउन बाँकी केही नरहेको समेत बताए । ‘३५ वर्षदेखि जुन अधिकारका लागि लडेँ त्यो प्राप्त गर्न नसकिएका कारण राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका हौं’ उनले सुनाए ।






