एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपाल विजयी, कतार पराजित

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप अन्तर्गत दोस्रो खेलमा शनिवार कतारलाई ३२ रनले पराजित गर्दै टोलीले २०८१ साल नयाँ वर्षको सुखद् सुरुआत गरेको छ।
दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा बनाएको ६ छक्काको कीर्तिमान्बाट प्रेरित बनेको नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरको खेलमा ७ विकेट गुमाएर २१० रन जोडेको थियो।
जवाफमा कतारका ब्याटरहरू ९ विकेटको क्षतिमा १७८ रनमा सीमित हुन पुगे।
जारी प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको नेपाल एसीसी प्रिमियर कपको ’डिफेन्डिङ च्याम्पिअन’ टोली हो।
यसवर्ष पनि उपाधि जोगाउँदै नेपाल एशिया कपमा छनोट हुने योजनामा छ।
एसीसी प्रिमियर कपको विजेता टोली एशिया कपमा छनोट हुनेछ।
नेपाली खेलाडी दीपेन्द्रसिंह ऐरीले ओमानमा जारी ’एसीसी प्रिमियर कप’ क्रिकेटको शनिवारको खेलमा अर्को नयाँ कीर्तिमान् बनाएका छन्।
कुनै पनि ब्याटरले एक ओभरमा लगातार ६ छक्का प्रहार गर्नुलाई क्रिकेटमा दुर्लभ मानिन्छ।

तर शनिवार कतारविरुद्धको खेलमा ऐरीले दुर्लभ मानिने सोही कुरा गरे।
यो सँगै उनी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा पनि एकै ओभरमा ६ छक्का बनाउने खेलाडीको सूची निकै छोटो छ।
योसँगै ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बनेका छन्।
यसअघि भारतका युवराज सिंहले सन् २००७ को टी–२० विश्वकपमा इङ्ग्ल्यान्डविरुद्ध एकै ओभरमा ६ छक्का बनाएका थिए।
त्यस्तै सन् २०२१ मा वेस्ट इन्डिजका किरन पोलार्डले श्रीङ्का विरुद्धको खेलमा ६ छक्का प्रहार गरेका थिए।
यस्तै एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकाका हर्स्चेल गिब्सले सन् २००७ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा उक्त कीर्तिमान् बनाएका थिए।
अमेरिकाका जसकरण मल्होत्राले पनि पपुवा न्युगिनी विरुद्धको एक दिवसीय खेलमा त्यस्तै कीर्तिमान् बनाएका थिए।
कुन खेलाडीले कति रन बनाए ?
शनिवार एसीसी प्रिमियर कपमा कतारविरुद्ध ब्याटिङ रोजेको नेपालले दीपेन्द्रको अर्धशतकको मद्दतले २० ओभरमा २१० रनको विशाल स्कोर बनाउन सफल भएको थियो।

ऐरीले २१ बलमा ६४ रन बनाएर अविजित रहेका थिए। उनले शनिवारको खेलमा ७ छक्का र तीन चौका प्रहार गरेका थिए।
नेपाली खेलाडीहरूमध्ये आसिफ शेखले ४१ बलमा ५२ रन बनाए।
त्यस्तै कुशल मल्लले ३५ र कप्तान रोहित पौडेलले १८ रन जोडे भने कुशल भुर्तेलले १२ रन बनाएका थिए।
त्यस्तै सन्दीप जोराले सात, गुल्सन झाले पाँच र विवेक यादवले पाँच रन बनाउन सफल भए।
कतारी खेलाडीहरू हिमांशु राठोर र मुशावर शाहले तीन÷तीन विकेट लिएका थिए भने अमिर फारुकले एक विकेट लिए।
शुक्रवारको पहिलो खेलमा नेपालले मलेशियालाई पाँच विकेटले हराएको थियो।






