मटिहानीका आगलागीपीडित परिवारका विद्यार्थीहरुलाई श्रम मन्त्रालयद्धारा ब्याग, कपी कलम र सेनिटरी प्याड वितरण

जनकपुरधाम । मे दिवसका अवसरमा मधेश प्रदेशको श्रम तथा यातायात मन्त्रालयले महोत्तरी मटिहानीका आगलागी पीडित परिवारका विद्यार्थीहरुलाई ब्याग, कपी कलम र सेनिटरी प्याड वितरण गरेको हो । बुधबार बिहान मन्त्रालयले आगलागीपीडित परिवारका १०३ जना विद्यार्थीलाई ब्याग, कपी कलम, सेनिटरी प्याड वितरण गरेको हो ।

विभिन्न राजनैतिक दल सम्बद्ध मजदुरहरुको ट्रेड युनियनका नेतृत्व लगायत अन्य सरोकवाला निकायका प्रतिनिधिहरुको सहभागितामा गोष्ठी वा कार्याशाला गर्ने छोटो तयारी भएपनि मन्त्री बेचीको निर्णय अनुसार मटिहानीका आगलागीपीडित परिवारका बालबालिकालाई बिहान गएर सामग्री वितरण गरिएको हो । कार्यक्रममा मटियानी नगरपालिकाका मेयर हरि मण्डद, मन्त्रालयका प्रवक्ता रन्जित यादवसहित कर्मचारीहरु, स्थानीय राजनैतिक प्रतिनिधिहरु विजय चौधरी, रिता भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

गोष्ठी, कार्यशाला, र्याली वा अन्य कार्यक्रम भन्दा खुला आकाशमुनी बसिरहेका पीडित परिवारका बालबालिकाका लागि सहयोग गरिएको मन्त्री लुंगेलीले बताईन् । राहत भन्दै खाद्यान्न सामग्री लगायतको मात्र थुप्रो लाग्न सक्ने भएकाले आफूले बालबालिकाको शिक्षण सामग्री समेत नष्ट भएको खबर पाएकाले त्यस्तो सामग्री प्रदान गरिएको मन्त्री लुंगेलीको भनाई छ ।

प्रतिक्रिया
नागरिक मिरर