सप्तरीको अग्निपीडितलाई घर बनाइदिने मुख्यमन्त्री यादवको घोषणा

सप्तरी । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितहरूलाई घर बनाइदिने घोषणा गरेको छ ।
अग्निपीडितलाई भेट्न बिहिबार घटनास्थल पुगेका मुख्यमन्त्री यादवले प्रदेश सरकार जनता आवासको मोडेलमा पीडित परिबारलाई घर बनाइदिने घोषणा गरेको हो ।
उनले भने, ’प्रदेश सरकार सुखदुःखमा तपाईहरुको साथमा छ, आजकलमै निर्णय गरेर यहाँ आगोमा जति घर जलेको छ त्यति घर प्रदेश सरकारले बनाइदिनेछ।’
बिहिबार दिउँसो काठमाडौँबाट राजविराज विमानस्थल पुगेका मुख्यमन्त्री सिधै घटनास्थल पुगेका थिए । घटनास्थल निरिक्षणको क्रममा अग्निपीडितहरूले मुख्यमन्त्री समक्ष आफ्नो दुखेसो पोखेका थिए ।
मंगलबार चिम्टीमा भएको आगलागीमा परेर त्यहाँका ४७ बढी परिवार घरविहीन बनेका छन् ।
निरिक्षणको क्रममा बन तथा वातावरण मन्त्री भरत साह, प्रदेश सभा सदस्य मनिष सुमन, किरण साह, माला कर्ण, मधेश सरकारका पुर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह सहितको उपस्थिति रहेको थियो ।






