मधेशमा उपेन्द्र यादवको किल्ला भत्कियो, जनमतका महेश मुख्यमन्त्री बन्दै

जनकपुरधाम । मधेश प्रदेशमा जनमत पार्टी नेतृत्वको सरकार बन्ने भएको छ । जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवको नेतृत्वमा सरकार बनाउने सहमति भएको नेकपा माओवादी केन्द्र मधेश प्रदेश दलका नेता भरत प्रसाद साहले जानकारी दिएका छन् । यससँगै प्रदेशमा स्थापनाकालदेखि नै नेतृत्व गर्दै आएको उपेन्द्र यादव नेतृत्व गर्दै आएको पार्टी जसपा नेपालको किल्ला भत्किएको छ ।

दलका नेता साहका अनुसार बाँकीको ३ वर्षमा आलोपालो नेतृत्व गर्ने गरी नेकपा एमाले, जनमत, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र लोसपासहितको सरकार यस प्रदेशमा बन्ने भएको छ । छिट्टै दाबी पेश गरिने जनाए ।

नेतृत्वको विषयमा सहमति टुंगिएपनि मन्त्रालय बाँडफाड लगायतका विषय अझ टुंगो नलागेको उनले बताए । क्रमशः पहिलो वर्षमा जनमत, दोश्रोमा नेकपा माओवादी केन्द्र अन्तिम वर्षमा नेकपा एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति भएको दलका नेता साहले बताए ।

मन्त्रालय बाँडफाँड लगायतको विषयमा जसपा नेपालको मुख्यमन्त्री सरोज कुमार यादवसँग माओवादीको दुरी बढेपछि गत बैशाख ३० गते आइतबार नेकपा माओवादी र एमाले सरकारबाट बाहिरिएको थियो । माओवादी र एमाले सरकारबाट बाहिरिएसँगै मधेश प्रदेशमा नयाँ समिकरण बनेको छ ।

माओवादी र एमाले सरकारबाट बाहिरिए लगत्तै पाँच दलीय नयाँ गठबन्धनमा सम्मीलित दलहरुले नयाँ सरकार बनाउन छलफलमा व्यस्त थिए । गठबन्धनमा सहभागि शिर्ष दलका नेताहरुले आज नेतृत्वको विषयमा टुंगो लगाएको छ । मन्त्रालयको विषयमा अब प्रदेश स्तरमै सहमति जुटाउने प्रयास भईरहेको दलका नेता साहले बताएको छ ।

अहिले सरकारको नेतृत्व गरिरहेको जसपा नेपालको मुख्यमन्त्री यादवको सरकार अल्पमतमा परेको छ । तरपनि उनी नयाँ सरकार गठनका मार्ग प्रशस्त गर्ने सम्भावना न्यून रहेकाले नयाँ गठबन्धनमा सहभागि दलहरुले सम्भवतः आइतबार बहुमत सदस्यका साथ सरकार गठनका लागि दाबी पेश गर्ने बुझिएको छ ।

मधेश प्रदेशमा पहिलो पटक जसपा नेपाल बाहेकका दलले नेतृत्व गर्न लागेको हो । प्रदेश सरकारको नेतृत्व दोश्रो पटक जपसा नेपालले गर्दै आएको थियो ।

दलीय गठबन्धनमा नेकपा एमालेको २५, जनमतको १३, नेकपा माओवादी केन्द्रको ९, लोसपाको ८ र नेकपा एसको ७ वटा सांसद छन् ।

प्रतिक्रिया
नागरिक मिरर