सिरहाका दुई वडा पूर्णखोप सुनिश्चितता घोषणा

सिरहा । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ मुल नाराका साथ सिरहा नगरपालिकाका दुईवटा वडामा वडा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम सम्पन्न गरिएको छ ।

वडा खोप समन्वय समितिले छुटाछुट्टै कार्यक्रमको आयोजना गर्दै सिरहा नगरपालिका वडा नं.११ भलुवाही र वडा नं.५ मानपुरलाई वडा पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।

खोप कार्यक्रम बालबालिकाको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राखिएको हुँदा यस्ता कार्यमा कसैले हेलचक्राई गर्न नहुने वक्ताहरुको बताएका छन् । खोप लगाउनु भनेको विभिन्न रोगबाट लड्ने र बच्ने उत्तम उपाय भएकोले नियमानुसार लगाउनुपर्ने खोपबाट कुनै पनि बालबालिकालाई बञ्चित नगर्न उनीहरुले अभिभावकहरुलाई आग्रह गरे ।

मधेश प्रदेश गरी दुईवटा प्रदेशमा पूर्णखोप घोषणा कार्यक्रम नभएको कारण नेपाल पूर्णखोप घोषणाबाट बञ्चित हुँदै आएकोले यस्ता कार्यक्रममा जोड दिन उनीहरुले सम्बन्धित निकायहरुलाई आग्रह गरेका छन् । विकास निर्माणसँगै स्वास्थ्य र शिक्षा क्षेत्रको चौतर्फी विकास तथा व्यवस्थापनमा विषेश ध्यान दिँदै आएको सिनपा वडा नं.११ का वडाध्यक्ष विनोद कामतिले बताए ।

खोपबाट बञ्चित हुनु भनेको दिगो स्वास्थ्य संकटमा पर्नु हो त्यसैले वडालाई पूर्णखोप घोषणाको अवधारणालाई अक्षरंश व्यवहारमा आफुहरुले लागु गरेको सिनपा वडा नं.५ का वडाध्यक्ष जागेश्वर यादवले विश्वास दिलाए ।

सिरहा नगरपालिका वडा नं.११ भलुवाहीमा भएको कार्यक्रमको अध्यक्षता वडाध्यक्ष विनोद कामतिले गरेका थिए भने सिनपा वडा नं.५ को कार्यक्रमको अध्यक्षता वडाध्यक्ष जागेश्वर यादवले गरे । उक्त कार्यक्रममा खोप फोकल पर्सन रामविनय यादव, सिनपा स्वास्थ्य शाखा प्रमुख इद्रिस राईन, वडा ५ का वडा सचिव रामप्रकाश यादव, स्वास्थ्य चौकीका प्रमुख मनोज दास, भलुवाही स्वास्थ्य चौकीका प्रमुख प्रदीप ठाकुर लगायतले पूर्णखोपको महत्व र आवश्यकताबारे आ–आफ्ना विचार व्यक्त गरे ।

खोप कार्यलाई सफल बनाउन सक्रियतापूर्वक योगदान गरेकाहरुलाई उक्त कार्यक्रममा सम्मान गरेका छन्।

प्रतिक्रिया
नागरिक मिरर