मधेश प्रदेशका मुख्यमन्त्री यादव पदमुक्त

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल भएका छन् । बुधबार मधेश प्रदेश सभामा उनले राखेको विश्वासको मत लिने प्रस्ताव बहुमतद्वारा अस्वीकृत भएको हो । यससँगै उनी पदमुक्त भएका छन् ।

प्रदेश सभामा मुख्यमन्त्री यादवले राखेको मत लिने प्रस्तावको पक्षमा ५० मत परेको थियो । त्यस्तै, प्रस्तावको विपक्षमा ५३ मत परेको थियो । तटस्थमा ० मत प¥यो । मतदानमा १०३ सांसद सहभागी रहेको सभामुख रामचन्द्र मण्डलले बताए ।

मुख्यमन्त्री यादवले पाँचौं पटक विश्वासको मत लिने प्रयत्न गरेका थिए । उनको दल जसपा नेपाल गत वैशाख २२ गते विभाजन भएपछि उनले बुधबार मध्यरात १२ बजेअघि नै विश्वासको मत लिनुपर्ने बाध्यता सिर्जना भएको थियो ।

यद्यपि, जसपा नेपाल विभाजनका कारण मुख्यमन्त्रीले बुधबार मध्यरात १२ बजेभित्र विश्वासको मत लिनुपर्ने चर्चा यसअघि चलेको थियो । विभाजनबारे अदालतमा मुद्दा चलिरहेको र प्रदेश सभामा विभाजन प्रक्रियाले पूर्णता पाइनसकेको अवस्थामा यो विषय ओझेलमा परेको थियो ।

बुधबारभित्रै विश्वासको मत नलिए बिहीबारदेखि नयाँ प्रक्रिया सुरु गर्न विभिन्न दलहरू र प्रदेश प्रमुख सुमित्रा भण्डारीले कसरत सुरु गरेपछि मुख्यमन्त्री यादव विश्वासको मत लिन तयार भएका थिए ।

यसअघि यादवले बुधबार नै विश्वासको मत लिने तयारी गरेका थिए । त्यसको सम्पूर्ण तयारी पनि पूरा भएको थियो । तर उनले विश्वासको मत पाउने सम्भावना नदेखिएपछि २८ गतेका निम्ति कार्यसूचीमा राख्न चाहेका थिए ।

बुधबार दिउँसो प्रदेश सभा सचिवालयलाई पत्र पठाउँदै उनले आफू अस्वस्थ भएकाले २८ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूचीमा राख्न अनुरोध गरेका थिए । तर सभामुखले मुख्यमन्त्रीको पत्रलाई अस्वीकार गरिदिएका थिए ।

बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको बैठक झन्डै एक घण्टा ढिला सुरु भएको थियो । तर बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरू सहभागी भएका थिएनन् ।

बैठक सुरु हुनासाथ कांग्रेस सांसद वीरेन्द्र सिंहले नियमावलीको व्यवस्था स्मरण गराएका थिए ।

‘प्रदेश सभा सञ्चालन नियमावली २०७५ को परिच्छेद ३ नियम ६ को उपनियम ६ मा प्रदेश सभा बैठकमा सरकारको अनिवार्य उपस्थिति हुनुपर्ने व्यवस्था गरिएको छ । तर आजको बैठकमा सरकारको उपस्थिति देखिएन । त्यसैले आजको बैठक स्थगित होस् भन्ने माग गर्दछु’, उनले भनेका थिए।

त्यसपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि पनि दलहरूबीच छलफल चलेको थियो । अन्ततः आजै विश्वासको मत नलिए स्वतः पदमुक्त हुने सम्भावना देखेपछि दोस्रो बैठकमा मुख्यमन्त्रीको टिम सहभागी भएको थियो ।

प्रतिक्रिया
नागरिक मिरर