सप्तरीमा बाल क्लब संजालको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न

बाल अधिकार संरक्षणबारे १२ बुँदे घोषणा–पत्र जारी

सप्तरी । सप्तरी जिल्लाको राजविराजमा बाल क्लब सदस्य र पूर्वसदस्यहरूको प्रथम जिल्लास्तरीय सम्मेलन सम्पन्न भएको छ । बाल क्लबका पूर्वसदस्यहरूको अनुभव र बाल क्लबका हालका सदस्यहरूको अनुभव आदानप्रदानबाट एकीकृतरुपमा बालबालिकाको अधिकार सुनिश्चित गर्न स्थानीय सरकारसँग सहकार्य बढाउने उद्देश्यले सो कार्यक्रम संचालन गरिएको हो । खडक नगरपालिका, छिन्नमस्त गाउँपालिका, सेभ द चिल्ड्रेन तथा साझेदार संस्थाहरू सबल नेपाल, सेभ द सप्तरी, आसमान नेपाल, र लाइफ नेपालसँगको सहयोग र सहकार्यमा जिल्ला बाल क्लब संजालद्वारा दुई दिनको कार्यक्रम आयोजना भएको थियो

कार्यक्रममा बालसंरक्षण र बाल सहभागिता, बालबालिका तथा युवाको नीति, बाल साझेदारीता, जलवायू परिवर्तन जस्ता विषयहरूका छलफल भएको थियो । सम्मेलनमा सहभागीहरूले सप्तरी जिल्लामा बालबालिकाका सवालहरूको पहिचान र प्राथमिकीकरण, यसका मुख्य कारणहरूको विश्लेषण गरेका थिए । कार्यक्रमको दोश्रो दिन खडक नगरपालिका, राजविराजका स्थानीय सरकार प्रमुखहरूसँग स्थानीय सरकारले बालबालिकाको क्षेत्रमा गरिरहेको लगानी र आगामी दिनमा गर्नु पर्ने कार्यको बारेमा प्यानल छलफल गरेका थिए ।

“मेरो नाम बिभा हो, म २२ वर्षकी भएँ र अहिले स्नातक तेस्रो वर्षमा पढ्दै छु । मेरो अशक्तताको कारण, मलाई मेरो समुदायमा राम्रो व्यवहार गरिँदैन तर, यो कार्यक्रममा सहभागी हुँदा मलाई मैले सोचेको भन्दा बढी हौसला मिल्यो । मैले यहाँ नयाँ साथीहरू भेटें जसले मलाई आदरपूर्वक व्यवहार गरे । यी दुई दिनमा मलाई बालविवाहसम्बन्धी छलफल विशेष मन प¥यो । गाउँ फर्केपछि मैले यहाँबाट सिकेको सबै ज्ञान बाँड्न साथीहरूसँग मिलेर सहकर्मी शिक्षा जस्तै अभियान सुरु गर्नेछु। म समुदायलाई बालविवाहबारे जानकारी गराउन घरघर पुग्नेछु र बालबालिकालाई बालविवाह र त्यसका नकारात्मक असरहरूबारे अभिमुखीकरण गर्न गाउँका विद्यालयहरूमा पुग्नेछु । म आफ्नो समुदायमा बालविवाह रोक्न अबदेखि लागिपर्नेछु,” बिभा भन्छिन् ।

“मेरो नाम अभि हो, म २२ वर्षको एक ट्रान्स म्यान हुँ,

LGBTQI समुदायमा पर्दछु म । म आफ्नो परिचय खुलाउँन पाउँदा गर्व महसुस गर्छु किनभने मेरा आमाबुवाले मलाई स्वीकार गर्नुभएको छ, मलाई समर्थन र सहयोग गर्नुभएको छ । म मेरो नयाँ पहिचानको लागि मेरो नागरिकताको लागि लडिरहेको छु, किनकि मैले त्यो पाएको छैन । हाम्रो यो कार्यक्रमको समूह छलफल र बालबालिकासम्बधी मुद्दा पहिचानको क्रममा, मैले स्थानीय सरकारका प्रतिनिधिहरूसँग यी बिषयलाई लिएर प्रश्नहरू उठाए । मलाइ यो दुई दिनको कार्यक्रममा विशेषरूपमा साइबर अपराध, लागुपदार्थ दुव्र्यवसन र बालविवाह बिषयबस्तुमा भएका छलफल मन प¥यो । म आफू जस्तो बालबालिकालाई वर्तमान र भविष्यमा सहयोग गर्न पाउँदा खुसी हुनेछु,’ अभि भन्छन्।

कार्यक्रमको अन्तिम दिन १२ बुँदे घोषणा पत्र जारी गरी सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला बाल क्लव संजालकी अध्यक्ष सलमा खातुनले गरेको थियो ।

बालबालिकामा लगानी बढाउन, बाल क्लबलाई संस्थागत विकास गर्न स्थानीय तहका सरकारहरूसँग माग, नीति तथा योजना र कार्यक्रमहरू निर्माण गर्दा स्थानीय तहका सरकारले बालबालिकालाई प्राथमिकता राख्न, बालबालिकासँग अनिवार्य बालमैत्रीढंगबाट परामर्श गरी योजना तर्जुमा प्रक्रियामा समावेश गर्न, बालमैत्री स्थानीय शासन घोषणाका निम्ति पहल गर्न, विद्यालय शिक्षाबाट बञ्चित, बालश्रम, लागुपदार्थ दुव्र्यवसन, असहाय, विपन्न तथा अपाङ्गता भएका बालबालिकाकालाई विशेष शिक्षणको व्यवस्था गर्न, बालविवाह मुक्त, बालहिंसा न्यूनिकरण, जन्मदर्ता सम्बन्धी समस्या समाधान गर्न, जातिय विभेदिकरण, दहेज प्रथा न्यनिकरण, यूवा उद्यमशीलताको विकास गरी रोजगारी प्रवर्धन गर्न तथा LGBTQIA समुदायका बालबालिकामाथि हुने विभेद कम गर्दै अधिकार सुनिश्चितता सहित समतामुलक विकासमा जोड दिई सहयोग गर्ने लगायत अन्य समसामयिक सवालहरूमा धारणा, माग र प्रतिवद्धता सहितको घोषणापत्र जारी गरिएको छ ।

प्रतिक्रिया
नागरिक मिरर