बुबा लोसपा सांसद, छोरा जनमतबाट मुख्यमन्त्री ! सिके राउतको निर्णयले पार्टीमा असन्तुष्टि

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेशका मुख्यमन्त्री सांसद सतिशकुमार सिंह बनाउने निर्णय लिएका छन् । सतिश सप्तरी २(१)बाट निर्वाचित सांसद हुन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ घर भएका सतिशका बुवा शेखरकुमार सिंह राष्ट्रियसभा सदस्य छन् । तत्कालीन राजपा (अहिलेको लोसपा) बाट शेखर राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।

सतिश पनि तत्कालीन राजपामा लामो समय सक्रिय थिए । सोही पार्टीबाट उनी ०७४ को स्थानीय तहको चुनावमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए ।

०७९ को स्थानीय तहको चुनावमा पनि सोही पार्टीबाट पुनः गाउँपालिका अध्यक्षमा भिडेका थिए । तर पराजित व्यहोरे । त्यसपछि उनले लोसपामा भविष्य देखेनन् । र, प्रदेशसभा सदस्यमा चुनाव लड्न जनमत पार्टीमा प्रवेश गरे । जनमतको लहर देखेर चुनावी मैदानमा उत्रेका उनी निर्वाचित हुन सफल भए ।

सतिशका परिवार पुरानो धनी भएको स्थानीय बताउँछन् । अहिले पनि गाउँमा उनको परिवारको दबदबा छ ‌। गाउँका सर्वसाधारणले उनको परिवारको सदस्यलाई ‘मालिक’ सम्बोधन गर्छन् ।

सतिशका बुवा शेखर ०३५ सालदेखि राजनीतिमा लागेका छन् । तर ०६९ मा शरत सिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेश समाजवादी पार्टीमा प्रवेश गरी राजनीतिमा सक्रिय भएका थिए । सोही पार्टीबाट उनले संसदीय क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार भएका थिए । जीत भने हासिल गने सकेन ।

मधेश आन्दोलनमा सक्रिय भूमिका खेलेका शेखर मधेशवादी पार्टीहरू एकीकरण भई निर्माण भएको राष्ट्रिय जनता पार्टी (राजपा) मा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।

पार्टीमा असन्तुष्टि बढ्यो

दलका नेता महेशप्रसाद यादवलाई बाइपास गरी सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय अध्यक्ष राउतले एकलौटी ढंगले गरेको एक सांसदले बताए ।

उनले भने, ‘सत्ता गठबन्धनले जनमतलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि पार्टीका नेता कार्यकर्ताहरू खुशी थिए । जनताले मुख्यमन्त्रीको रूपमा यादवलाई बधाई पनि दिन भ्याए । तर, आज अध्यक्षजीबाट सिंहलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्न निर्देशन आयो ।’

दलका नेता यादवलाई मुख्यमन्त्री बनाउने निर्णय नगरेको भन्दै पार्टीमा असन्तुष्टि बढेपछि सिंहलाई दलका नेता बनाउने खोजिएको छ । दलका नेता यादव र मुख्यमन्त्री सिंह बनेपछि अप्ठ्यारो पर्न सक्छ । त्यसैले यादवलाई हटाएर अध्यक्ष राउतले सिंहलाई नै दलको नेता बनाउन खोजेका छन् ।

मधेशमा जनमतका १३ सांसद छन् । सिंहलाई दलका नेता बनाउने विषयमा छलफल चलिरहेको एक सांसदले पुष्टि गरे ।

उनले भने, अहिले निर्णय भएको छैन । सिंहलाई दलका नेता बनाउन अध्यक्षजीले दबाब आइरहेको छ ।’

एकलौटी ढंगले दलका नेता सिंहलाई बनाउने निर्णय गरिए पार्टीमा अझ विवाद बढ्ने उनले सुनाए ।

प्रतिक्रिया
नागरिक मिरर