मधेश प्रदेशसभाबाट बालिका संरक्षण विधेयक पारित

जनकपुरधाम । मधेश प्रदेशसभामा लामो समयपछि शनिबार एक नयाँ कानून पारित भएको छ । मधेश प्रदेशसभाको तेश्रो अधिवेशनको १४औं बैठकबाट प्रदेश बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेका विधेयक, २०८१ पारित भएको हो ।

प्रदेशसभाको तेश्रो अधिवेशन १३औं बैठकमा खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पेश गरेको थियो । शनिबार दफा छलफल समाप्त भएपश्चात विधेयक पारित गरियोस् भन्ने मन्त्री जयसवालको प्रस्ताव सभाले पास गरेसँगै मधेश प्रदेशले बालिका संरक्षण ऐन, २०८१ पाएको हो ।

विधेयक पारितका लागि प्रस्तुत गर्दागर्दै मन्त्री जयसवालले ‘बेटी जिन्दावाद’ को नारा लगाउनुभयो । उहाँले बालिका संरक्षण सम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशको रुपमा मधेश प्रदेशको नाम आएको उल्लेख गर्दै उत्साहित भएर ‘बेटी जिन्दावाद !’ भनेर नारा लगाए ।

उनले भने, ‘जानकीजीको भूमिबाट देशमै पहिलो बालिका संरक्षण सम्बन्धी कानुन पारित भएको छ । त्यसैले एक पटक भनौं बेटी जिन्दावाद !’

मन्त्री जयसवालले प्रदेशमा छोरी बिमा कार्यक्रम पुनः सुरु गर्न १२ करोड थप रकम बजेटमा व्यवस्था गरेको जानकारी दिए । उनले पितृसत्ता भत्काउनेगरी यो ऐन आएको जिकिर गरे ।

बालिका संरक्षणको कुरा गर्दा बालकप्रति अन्याय हुन नदिन सरकार गम्भिर रहनुपर्ने उल्लेख गर्दै मन्त्री जयसवालले भने, ‘सकारात्मक विभेदको माध्यमबाट छोरीलाई सशक्तिकरण गर्न आवश्यक छ ।’

विधेयक पारित हुनु अगाडी १७ जना सांसदले सुझाव वक्तव्य दिएको थियो । उनीहरुले उठाएको विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारी कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यक्ता औल्याए ।

उनले यो विधेयकलाई कानुनको रुप दिन पुरुष सांसद भन्दा महिला सांसदले आमाको रुपमा अभिभावकीय भूमिका निर्वाह गरेको भन्दै महिला सांसदहरुप्रति सम्मान प्रकट गरे ।

प्रतिक्रिया