जसपा नेपालले क्रियाशिल सदस्य संख्या ५ लाख बनाउने जनअभियान चलाउने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पार्टीको क्रियाशिल सदस्य संख्यालाई ५ लाख बढी बनाउने गरी जनअभियान चलाउने भएको छ ।
मंगलवार ललितपुरमा बसेको केन्द्रीय समितिको बैठकमा जनस्तरमा जनअभियान चलाउनेबारेमा छलफल भएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका नेता मनिष सुमनले पार्टीका सबै केन्द्रीय सदस्यहरु वृहत तयारीकासाथ आम जनतामा जाने बताए । उनले २१५ जना केन्द्रिय सदस्यलाई अभिमुखीकरण तालिम दिइरहेको र तालिम पार्टीकै र बाहिरका केही विज्ञहरुबाट दिइएको बतए ।
उनले महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकपछि सबै केन्द्रीय सदस्यहरु प्रशिक्षित भइसकेपछि राजनीतिक, शिक्षा, स्वास्थ्य, कृषि, संविधान संशोधनसम्बन्धी ठोस धारणा बनाउने पनि बताए ।
नेता सुमनले आगामी ४ महिनासम्मका लागि सबै केन्द्रीय सदस्यहरुलाई कुनै न कुनै भुगोलको जिम्मेवारी दिएर पार्टीका सांगठनिक काममा खटाइने जानकारी दिए ।
उनले भने, ‘२१५ जना केन्द्रीय सदस्यलाई अभिमुखीकरण एक प्रकारले दिएको छ । तालिम पार्टीकै केही र बाहिरका विज्ञहरुबाट पनि दिइएको छ । महाधिवेशनपछिको यो पहिलो केन्द्रिय समिति बैठक हो । पार्टीका सबै केन्द्रिय सदस्यहरु प्रशिक्षित भइसकेपछि बैठकमा प्रश्तुत गरेको राजनीतिक एजेण्डा, शिक्षा, स्वास्थ्य, कृषि, संविधान संशोधनसम्बन्धी ठोस धारणा बनाउँदै आगामी ४ महिनासम्मका लागि सबै केन्द्रिय सदस्यहरुलाई कुनै न कुनै भुगोलको जिम्मेवारी दिएर पार्टीका सांगठनिक काममा खटाउँदै छौँ । पार्टीको वडा समितिदेखि केन्द्रिय समितिसम्मको प्रत्येक स्तरका समितिको बैठक गर्ने, आफ्नो विचारसँग नजिक भएकालाई पनि पार्टीप्रति आकर्षित गर्नु, हाम्रो पार्टीको क्रियाशिल सदस्य संख्यालाई ५ लाख बढी बनाउने गरी पार्टीले ठूलो जनअभियान जनस्तरमा चलाउँदै छ । पार्टीका सबै केन्द्रिय सदस्यहरु वृहत तयारीकासाथ आम जनतामा जानेछन् ।’
जसपा नेपालको केन्द्रीय समितिको बैठक २७ गतेदेखि ललितपुरमा सुरु भएको हो र बुधवार सकिने छ ।




