श्रीलङ्काको आगामी राष्ट्रपतीय निर्वाचनमा ३८ जना उम्मेदवार

श्रीलङ्काको राष्ट्रपतीय निर्वाचनमा ३८ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसरा आगामी राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति रनिल विक्रमासिङ्घेले ३८ जना प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने जनाएको छ ।

दुई वर्षअघि विक्रमासिङ्घेले सत्ता सम्हालेयताको यो पहिलो मतदान हो । श्रीलङ्कामा अकल्पनीय आर्थिक सङ्कटका कारण आक्रोशित प्रदर्शनकारीहरूले शक्तिशाली राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेपछि उहाँले सत्ताको बागडोर सम्हालेका थिए भने अहिलेसम्ममा श्रीलङ्काले आफ्नो आर्थिक सङ्कटलाई थप विग्रिन नदिई सम्हाल्न सफल भएको छ ।

उमेरले ७५ वर्षमा हिँडिरहेका विक्रमासिङ्घेलाई विपक्षी दलका संसदीय नेता ५७ वर्षीय राजनीतिज्ञ प्रेमदासा र ५५ वर्षीय वामपन्थी नेता अनुरा कुमारा दिसानायकाले चुनौती दिएका छन् । तर, त्रिपक्षीय लडाइँका रूपमा सुरु भएको यो प्रतिस्पर्धा प्रभावशाली राजापाक्षे परिवारले विक्रमासिङ्घेलाई दिएको महत्वपूर्ण समर्थन फिर्ता लिएपछि र आफ्नै उम्मेदवार निर्मल राजापाक्षलाई उठाएपछि गत सातादेखि चुनौति झनै पेचिलो बनेको छ ।

पूर्व राष्ट्रपति तथा प्रधानमन्त्री महिन्दा राजापाक्षेका छोरा तथा गोटबायाका भाइसमेत रहेका ३८ वर्षीय राजापाक्षे राजापाक्षे संसद सदस्य हुन् ।

करिब दुई करोड २० लाख जनसङ्ख्या रहेको बौद्ध बहुल श्रीलङ्कामा सेप्टेम्बर २१ मा मतदान हुँदैछ ।

निर्वाचन आयोगका अध्यक्ष आर.एम.ए.एल.रथनायकेका अनुसार ३९ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् र जसमध्ये कोही पनि महिला छैनन् ।

श्रीलङ्कामा निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन हुनु सामान्य कुरा हो, तर अभियोजन भने विरलै हुने गरेको छ ।

विक्रमासिङ्घेले आफ्नो दक्षिणपन्थी युनाइटेड नेसनल पार्टी (युएनपी) लाई त्याग्नुभएको छ भने व्यापक समर्थनको आशामा आफूलाई स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत गरेका छन् ।

सन् २०१९ को नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावमा गोटबाया राजापाक्षेले ३५ जना उम्मेदवारलाई पराजित गर्नुभएको थियो तर उहाँलाई सन् २०२२ मा अर्थव्यवस्थाको गलत व्यवस्थापनको विरोधमा महिनौंसम्म चलेको विरोध प्रदर्शनपछि राजिनामा दिन बाध्य पारिएको थियो ।

विक्रमासिङ्घे सन् २०२२ को जुलाईमा राजापाक्षेको बाँकी कार्यकालका लागि संसदबाट राष्ट्रपति निर्वाचित भएका थिए ।

श्रीलङ्कामा एक करोड ७० लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउँछन् भने आधुनिक मतदान अभ्यास (विद्युतीय मतदान)का कारण मतदान भएको एक दिनभित्र परिणाम आउने अपेक्षा गरिएको छ र निर्वाचन परिणाम घोषणा भएको दुई हप्ताभित्र नयाँ राष्ट्रपतिले शपथ लिनुपर्छ ।

प्रतिक्रिया
    ट्याग: