धनुषाको सतलोक आश्रममा तीन दिवसीय महायज्ञको आयोजना हुँदै
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित रहेको सतलोक आश्रममा तीन दिवसीय महायज्ञको आयोजना हुने भएको छ ।
शुक्रबारदेखि भदौ २३ गतेसम्म तीन दिवसीय महायज्ञको आयोजना भईरहेको आश्रमले जनाएको छ । सन्त रामपालजी महाराजको ७४ औं अवतरण दिवसको अवसरमा उक्त महायज्ञको आयोजना हुन लागेको हो । करिब ७४ बर्ष पहिले भारतको हरियाणा राज्यको सोनिपत जिल्लाको धनाना गाउँमा जन्मिएका गुरु संत रामपाल जि महाराजले समाज सुधारका लागि पुर्याएको अतुलनिय योगदानलाई मध्यनजर गर्दै यो महायज्ञको आयोजना गरिने भएको जनाइएको छ ।
महायज्ञमा देश विदेशबाट श्रद्धालुभक्तजनहरु आउने भएका छन् । महायज्ञमा सहभागि हुने श्रद्धालुहरुलाई निःशुल्क भोजन भण्डाराको व्यवस्था गरिएको छ । तीन दिनसम्म चल्ने महायज्ञको पहिलो दिन गरिबदासजी महाराजको अमरवाणिको अखण्ड पाठबाट हुनेछ । अखण्ड पाठ २१ गते बिहान ९ः१५ मा सुरु हुनेछ उक्त पाठ तीन दिन सम्म चल्ने छ। अखण्ड पाठ सँगसँगै आश्रममा भोजन भण्डारा, आध्यात्मिक प्रदर्शनी, आध्यात्मिक ज्ञानचर्चा, निशुल्क मन्त्रदिक्षा लगायतका कार्यक्रम पनि चल्ने आश्रमले जनाएको छ ।
यस्तै दोस्रो दिन पनि श्रदालुहरुको आवतजावत चली नै रहने छ । आश्रमले दिएको जानकारी अनुसार दोस्रो दिन पहिलो दिनका कार्यक्रमहरु सँगै नयाँ कार्यक्रमहरु पनि हुनेछ । दोश्रो दिनको कार्यक्रममा १७ मिनेटमा दाइजोमुक्त सामुहिक विवाह, रक्तदान शिविर लगायतका कार्यक्रमहरु हुनेछ ।
त्यसैगरी तेस्रो दिन बिहान साढे ९ बजेमा अखण्ड पाठको समापन गरिने छ । त्यसपश्चात विशाल सत्संग समारोह लाग्ने छ । सो दिन पनि विशाल भण्डारा लगायतका अन्य कार्यक्रमहरु हुने जनाइएको छ ।
आश्रमले कार्यक्रममा देशका उच्च ओहदाका व्यक्तित्वहरुलाइ आमन्त्रण गरेको जनाइएको छ । आश्रमले जनाए अनुसार पुर्व राष्ट्रपती डा. रामवरण यादव, गृहमन्त्री रमेश लेखक, प्रतिनिधिसभा सदस्य सांसद डा. सिके राउत, मधेश प्रदेशको मन्त्रीपरिषद लगायत व्यक्तित्वहरुलाई आमन्त्रण गरेका हुन् ।
आश्रमले यस महायज्ञमा बढी भन्दा बढी सहभागिहरुलाई सहभागिताका लागि आग्रह गरेका छन् । समाजलाई विकृतिमुक्त बनाउने अभियानमा सहयोग पुर्याउन आश्रमले विभिन्न विशेष व्यक्तित्वहरुलाई कार्यक्रममा आमन्त्रण गरेको जनाएका छन् ।