विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्री सिंह २५१ जनाको नेतृत्व गर्दै अयोध्या प्रस्थान

जनकपुरधाम । मधेसका मुख्यमन्त्री शतिसकुमार सिंह दुई सय ५१ सदस्य प्रतिनिधिमण्डलको नेतृत्त्व गदै उत्तरप्रदेशको अयोध्याका लागि प्रस्थान गरेका छन् ।
अयोध्यास्थित श्रीराम मन्दिरका पदाधिकारीलाई मङ्सिर २१ गते जनकपुरधाममा आयोजना हुने जानकी विवाह महोत्सवका लागि आमन्त्रण गर्न उनी शनिवार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतिनिधिमण्डलमा विश्वहिन्दूपरिषद् नेपाल, जनकपुर उपमहानगरपालिकाका प्रमुख मजोजकुमार साह, जनकपुर उद्योग वाणिज्य महासङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी र जानकी मन्दिरका उत्तराधिकारी रामरोशनदास वैष्णवलगायत नागरिक समाजका प्रतिनिधि सहभागी छन् ।
प्रतिनिधिमण्डल आइतवार राति अयोध्या पुग्ने र उक्त मन्दिरका पदाधिकारीलाई आमन्त्रण गर्ने परिषद्का अध्यक्ष सन्तोष साहले बताए ।
सोमवार अयोध्यास्थित राममन्दिरमा तिलकोत्सवको आयोजना गरिनेछ।
परम्परागत रुपमा आयोजना हुँदै आएको जानकी विवाह उत्सवमा सहभागी हुन प्रतीकात्मक रुपमा भगवान् श्रीरामका साथै चारै दाजुभाइ र तीन रानीका लागि लत्ताकपडा गरगहनासँगै माखन, दहीच्यूरा, फलफूल पकवान मिष्टान्न सौगातस्वरुप राममन्दिरका पदाधिकारीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । रासस






