इजरायली प्रधानमन्त्री नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
अन्तर्राष्ट्रिय आपराधिक न्यायालय (आईसीसी) ले बेन्जामिन र पूर्व रक्षा मन्त्री योआभ ग्यालेन्टका साथै हमासका सैन्य कमान्डर मोहम्मद दिएफविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
आईसीसीको प्री ट्रायल चेम्बरले बयान जारी गर्दै इजरायलको तर्फबाट कोर्टको अधिकार क्षेत्रलाई दिइएको चुनौतीलाई खारिज गर्दै पक्राउ पुर्जी जारी गरिएको बताएको छ ।
इजरायली सेनाले मोहम्मद दिएफको गत जुलाईमा गाजामा भएको एक हवाइ आक्रमणमा मृत्यु भएको दावी गरेपनि अदालतले भने उनलाई मृत मानेको छैन । त्यसकारण दिएफविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको बीबीसीले जनाएको छ ।
आईसीसीका न्यायाधीशहरूले भनेका छन्, “तीनैजनामाथि इजरायल र हमासबीच युद्धको क्रममा युद्ध र मानवताविरुद्ध कथित अपराधका लागि जिम्मेवार हुने पर्याप्त प्रमाण फेला परेका छन् ।” तर, इजरायल र हमास दुबैले आईसीसीको आरोपलाई खारेज गरिदिएको छ ।
आईसीसीले जारी गरेको पक्राउ पुर्जी लागू हुने वा नहुने विषय अब यसका १२४ सदस्य राष्ट्रमाथि निर्भर हुनेछ ।






