तिरुपति बालाजी मन्दिरमा कार्यरत गैर हिन्दु कर्मचारीलाई हटाइने

भारत । भारतको तिरुपति बालाजी मन्दिरको प्रसादमा जनावरको बोसो मिलाइएको घटना अझैँ सेलाउन सकेको छैन । उक्त घटनाले श्रद्धालुहरूको आस्थामा चोट पुगेको र भविष्यमा त्यस्तो घटना नदोहोरिने कुनै ग्यारेन्टि नरहेकाले मन्दिरमा कार्यरत गैर हिन्दु कर्मचारीलाई अन्तै सरुवा गर्ने विषयमा बहस सुरु भएको हो ।
बीबीसीका अनुसार भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दिरको तिरुमाला तिरुपति देवस्थानम बोर्ड (टीटीडी) ले प्रदेश सरकारसँग टीटीडीमा कार्यरत सबै गैर–हिन्दु कर्मचारीलाई अन्तै जागिर दिन वा स्वेच्छिक अवकाशमा जान भनेको छ ।
टीटीडीको उक्त फैसलाको असर भविष्यमा आन्ध्र प्रदेशका ती सबै मन्दिरमा पर्नेछ जहाँको प्रशासन भक्तहरूको दानबाट प्राप्त धनराशीले सञ्चालित छन् ।
टीटीडी बोर्डले केही समय अघि मात्र तिरुपति बालाजी मन्दिरमा अबदेखि गैर–हिन्दु कर्मचारीलाई नियुक्त नगर्न निर्णय नै गरिसकेको छ ।
टीटीडी बोर्डको उक्त निर्णयले विवाद उत्पन्न गरेको छ । किनकी तेलङ्गाना उच्च अदालतको एक इजलासले सन् २०१८ मा निर्णय गर्दै गैर–हिन्दु कर्मचारीसँग कुनैपनि विभेद गरिँदैन र ती सबै शासकीय कर्मचारी रहेको फैसला गरेको थियो ।
टीटीडीका अध्यक्ष बीआर नायडूले बीबीसीसँग कुराकानी गर्दै भने, ‘यो माग वर्षौदेखि उठीरहेको थियो की, टीटीडीमा हिन्दुलाई मात्रै नियुक्ति दिइनुपर्छ । जसले गर्दा भक्तजनमा मन्दिरलाई लिएर कुनैपनि अविश्वासको वातावरण नबनोस् ।’
गत सेप्टेम्बरमा भारतको विश्वप्रसिद्ध तिरुपति मन्दीरको प्रसादमा जनावरको बोसो प्रयोग भएको पाइएको रिपोर्ट सार्वजनिक भएको थियो ।
भारत आन्ध्र प्रदेशको तिरुपति मन्दीर विश्व प्रसिद्ध मन्दीरमध्येको एक हो। जहाँ नेपालसहित विश्वका विभिन्न मुलुकबाट पर्यटक र भक्तजन पुग्ने गर्छन्।
तिरुपति मन्दीरमा बर्सेनि ३ हजार करोड रुपैयाँ दानबाट जम्मा हुन्छ। जसमा ५ सयदेखि ६ सय करोड रुपैयाँ प्रसादको रुपमा लड्डु बिक्री गरेको हुने गरेको छ।