धुन्चे बजारमा चियागफ : मेडिकल क्षेत्रमा खुट्टा तान्ने प्रवृत्तिले स्वास्थ्य प्रणालीमा पारेको प्रभाव

एक साँझ, अस्पतालको न्यूनतम सेवा मापदण्ड, मूल्याङ्कन र अनुगमन गर्न आएका चिकित्सकहरूसहितको टोली रसुवाको धुन्चे बजारको चिसो मौसममा, म डा. त्रिभुवन, डा. नवीन (स्त्री तथा प्रसुति रोग विशेषज्ञ), डा.राज (जनरल सर्जन), जिवन जी (एनजीओका प्रतिनिधि) र निवेश सर (स्कुलको प्रिन्सिपल तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष) सँग चिया पिउँदै गफ गरिरहेका थियौं। सबैजना तातो चियाको चुस्की लिँदै समाजका विविध पक्षहरूमाथि छलफल गरिरहेका थियौँ ।
सामान्य कुराकानीकै क्रममा, चिकित्सा क्षेत्रमा देखिएको खुट्टा तान्ने प्रवृत्तिबारे चर्चा सुरु भयो । यो विषयले हामीलाई विस्तारै गम्भीर बहसतर्फ डोर्यायो।
डा. राज (सर्जन): डा झा, हामी चिकित्सा क्षेत्रमा सुधार ल्याउन निकै प्रयास गर्छौं, तर खुट्टा तान्ने प्रवृत्तिले हामीलाई पछाडि धकेलिरहेको छ । नेपालमा नयाँ प्रविधि जस्तै ल्याप्रोस्कोपिक सर्जरी र सि-आर्म जस्ता प्रविधि भित्र्याउन त गाह्रो होइन तर त्यसबाट लगातार सेवा प्रवाह गर्न गाह्रो छ । त्यसमाथि त अहिलेको समयमा अस्पताल व्यवस्थापन गर्न त झनै गाह्रो ! एकातिर कर्मचारी व्यवस्थापनको समस्या, अर्कोतिर बजेट, त्यसमाथि खरिद प्रक्रिया ।
डा. झा: अनि त्यसमाथि अस्पतालभित्र र बाहिरबाट खुट्टा तान्ने समस्या….।
(हा..हा…हा…) सबैजना एकैचोटि हाँस्यौँ, सायद सबैको मनको कुरा मिलेको जस्तो थियो ।
डा नवीन: हो डाक्टर राज, म पनि त्यही सोच्दैछु। अहिले त अस्पतालहरू सुदृढ भइरहेको र गर्नुपर्ने समय हो । ल्याप्रोस्कोपिक सर्जरीले जटिल सर्जरीहरू छोटो समयमा, कम जोखिममा, र छिटो निको हुने गरि गर्न सकिन्छ। तर पुरानो सोचाइ भएका केही कर्मचारीहरू यसलाई केवल खरिदको रुपमा मात्र लिने गरेका छन् यसबाट पाउने सेवा र सहजताको बारेमा बुझ्नै सकेको छैनन् र सहजै अपनाउन सकिरहेका छैनन् ।
डाक्टर त्रिभुवन (डाक्टर झा ): ठीक भन्नुभयो। सिटी स्क्यान खरिद भयो किन भयो? ल्याप्रोस्कोपिक टावर खरिद भयो किन भयो? अनि भेन्टिलेटर खरिद भयो किन भयो? बिना हतियारको सैनिकले युद्धमैदानमा कसरी लड्ने हो? प्रविधिको महत्व बुझ्नुभन्दा पनि आलोचना गर्ने प्रवृत्ति बढी छ । जब मैले आपतकालीन सेवामा सिटी स्क्यान र भेन्टिलेटरको प्रयोगको कुरा उठाएँ, धेरैले यसको औचित्यमै शंका गरे ।
निवेश सर अस्पताल (व्यवस्थापन समिति को अध्यक्ष) : तर झासर, मेरो बुझाइमा सहकार्य बिना कुनै पनि innovation ले सफलता पाउँदैन । म मान्छु । अहिलेको यङ जेनेरेसनले केही नयाँ गर्न खोजिरहेको छ अस्पताललाई सुदृढ बनाउन त खोजि नै रहेको छ । तर साथमा विकृतिको रुपमा राम्रो गरेको प्रयासलाई समेत नराम्रो बनाउने एउटा होड नै चलेको छ डाक्टर झा! अस्पताल व्यवस्थापनमा पनि यही समस्या देखिन्छ । प्रतिस्पर्धा स्वाभाविक हो, तर नकारात्मक प्रतिस्पर्धाले सबैलाई पछि पार्छ । म तपाईंहरूलाई एउटा कथा सुनाउँछु, जसले हाम्रो समाजको वास्तविकता झल्काउँछ ।
डाक्टर झा: हुन्छ सुनौँ न सर ।
निवेश सर : यो कथा एउटा आँखा नदेख्ने अन्धोपन भएको व्यक्ति र हिँड्न नसक्ने अपाङ्गता भएको दुईजना साथीको हो । मैले पनि कतै सुनेको थिएँ ।
एउटा गाउँमा एकजना अन्धोपन भएको र एकजना लंगडो थिए । एकदिन, जंगलमा डुल्दै गर्दा उनीहरू ठूलो आगलागीमा परे । अन्धोपन भएको व्यक्तिमा देख्न सक्ने क्षमता थिएन, तर हिँड्न सक्थे । अर्कोतर्फ, लंगडो हिँड्न सक्दैनथे, तर उनीसँग दृष्टि थियो ।
हिँड्न नसक्नेले भन्यो, “हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ । म बाटो देखाउन सक्छु, तर हिँड्न सक्दिन । तिमीले मलाई काँधमा बोक, अनि म तिमीलाई सही बाटो देखाउँछु ।”
अन्धोपन भएकोले हिँड्न नसक्ने साथीलाईलाई काँधमा बोक्यो र दुवैजना मिलेर सुरक्षित स्थानसम्म पुगे । तर जब उनीहरू सुरक्षित स्माथानमा पुगे, उनीहरूमा “मैले बचाए” भन्ने अहंकारले उनीहरूलाई घेर्यो ।
आँखा देख्न नसक्नेले भन्यो, “यदि मैले तिमीलाई काँधमा नबोकेको भए तिमी आगोमा जलिसकेको हुने थियौ । तिमी त केवल बोल्न सक्थ्यौ, हिँड्न त सक्दैनथ्यो ।”
हिँड्न नसक्ने साथीले प्रतिवाद गर्दै भन्यो, “यदि म नभएको भए तिमीलाई बाटो कसले देखाउँथ्यो र तिमी जङ्गलबाट बाहिर कसरी निस्किन्थ्यौ ? यति बुझ म नभएको भए तिमी पनि आगलागीमा पर्ने थियौं ।”
झगडा चर्किंदै गर्दा , उनीहरूको अहंकार झन् बढ्दै गयो । यो सबै भगवानले हेरिराख्नुभएको थियो र सुनिराख्नुभएको थियो । उहाँले सोच्नुभयो दुवैजनामा जे कमी छ त्यो पूरा भएको खण्डमा सायद उनीहरू खुसी हुन्छन् र यो झगडा पनि अन्त्य हुन्छ । अब,भगवानले उनीहरूलाई वरदान माग्न भन्नुभयो, आँखा देख्न नसक्नेले भन्यो, ”मलाई केही चाहेको छैन भगवान, यो घमण्डी हिँड्न नसक्नेको आँखा फुटाइदिनुहोस् !”
अब भगवान पुग्नुभो हिँड्न नसक्ने साथीकोमा !
हिँड्न नसक्ने साथीले पनि पनि उही अहंकार प्रदर्शन गर्दै भन्यो, “भगवान, मलाई केही चाहिएको छैन यो घमण्डी आँखा नदेख्नेको खुट्टा भाँचिदिनुहोस् !”
भगवान छक्क परे!!
उनले सोचेका थिए कि आँखा देख्न नसक्नेले आँखाको वरदान माग्ने छ, र हिँड्न नसक्नेले खुट्टाको वरदान माग्नेछ । तर, भयो उल्टो! उनीहरू आफ्नो अहंकारकै कारण एकअर्कालाई अझै कमजोर र नष्ट गर्ने प्रयासमा लागेका रहेछन् ।
“सहकार्य र सहयोग गरेर राम्रो जीवन बाँच्न सकिन्थ्यो, तर अहंकारले सम्बन्धहरू टुटाउँछ ।”
निवेश सरको कथा सुनेर सबै गम्भीर भयौँ।
डा राज: वाह! निवेश सर, यो कथा त हाम्रा अस्पतालहरूसँग exact हुबहु मेल खान्छ। नयाँ स्वास्थ्यकर्मी र पुराना स्वास्थ्यकर्मीबीच सहकार्य हुनुपर्ने हो, समस्या चिकित्सक चिकित्सकबीचको मात्र होइन! चिकित्सक स्वास्थ्यकर्मीहरू बीच पनि छ! स्वास्थ्यकर्मी स्वास्थ्यकर्मीहरूबीच पनि उस्तै छ !
चलनचल्तीमा यहाँ त सबैलाई चिकित्सक नै भनिन्छ। नयाँको जोश जाँगर र पुरानोको अनुभव साथमा लिएर अगाडि बढ्दा स्वास्थ्य जस्तो क्षेत्र त कहाँबाट कहाँ पुग्थ्यो तर यहाँ अस्वस्थ प्रतिस्पर्धाले सम्बन्ध मात्र होइन संयन्त्र नै बिगारेको छ।
जीवन सर (एनजीओबाट पाल्नुभएको सर): “हो सर! म पनि आफ्नो कामको सिलसिलामा दुर्गमदेखि सुगमसम्म धेरै जिल्ला घुमिसकेको छु। दुर्गम जिल्लाको स्वास्थ्य क्षेत्रमा पनि यस्तै नै भइरहेको छ । सामान्य सुरु हुनुपर्ने शल्यक्रियाहरू, बन्नुपर्ने भवनहरू र चाहिने मानव स्रोत साधनहरू पहिलेभन्दा त सुधारकै क्रममा छ तर अझै पनि ग्रामीण भेगमा त आवश्यक पूर्वाधार पुगेकै छैन उदाहरणको लागि रसुवा नै लिउ न ।
भूकम्प पछिको अस्पताल पुनर्निर्माण पनि यतिका वर्ष बितिसक्दा पनि बन्न सकेको छैन । एकातिर अन्य प्रदेश अस्पतालहरूमा नयाँ प्रविधिहरू, जस्तै सिटी स्क्यान होस् वा सि-आर्म, टेलिमेडिसिन होस् वा ल्याप्रोस्कोपिक, सर्जरीको चर्चा हुन्छ, यो पनि आवश्यक छ ।
हाम्रो अस्पतालहरूलाई प्रविधिमैत्री बनाउन पनि आवश्यक छ । साथै अस्पतालभित्रै काम गर्ने साथीहरूको पनि समयअनुसार सोच परिवर्तन र सहयोग गर्ने भावना विकास हुन पनि आवश्यक छ। नत्र अवरोध त आइरहन्छ।
डा.झा: निवेश सरको कथा एकदम प्रासङ्गिक लाग्यो मलाई त । हामी स्वास्थ्यकर्मीहरू एकअर्कालाई प्रतिस्पर्धीभन्दा पनि सहयात्री ठानेर अगाडि बढ्नुपर्छ। हामीले सहयोग गरे मात्र सेवा प्रवाह प्रभावकारी हुन सक्छ ।
डा.नवीन: सही कुरा हो डाक्टर झा, जब एकजना चिकित्सकले नयाँ प्रयोग वा नयाँ सुरुवात गर्छ, अरुले सहयोग र समर्थन गर्नुको साटो ‘यो यो त हुँदै हुँदैन । “हेरौँ न कसरी चल्दो रहेछ” भनेर आलोचना गरिहाल्छन् । हामीलाई मात्र थाहा नभएको हो र! हामीले पनि वर्षौंदेखि अस्पतालमै काम गरेको हो । यस्तै यस्तै कुराहरू सुन्नुपर्छ । तर हामीले यो मानसिकता बदल्नुपर्छ ।
निवेश सर: ठिक भन्नुभयो डा. नवीन जी । यही कारणले व्यवस्थापन पक्षबाट हामीले केही योजना बनाउनु पर्छ । ठूलो अस्पतालले सानो अस्पताललाई, मानौँ विशेषज्ञ सेवाबाट नै सहयोग गर्न सक्छन् प्रदेश अस्पतालले ,स्थानीय स्तरको अस्पतालहरूलाई स्वास्थ्यकर्मी वा स्वास्थ्य सुधारका केही कार्यक्रम वा क्याम्पहरू गरेर घर घर सेवा पुर्याउन सकिन्छ र सहयोग गर्न सकिन्छ त्यस्तैगरी स्थानीय तहले समेत प्रदेश अस्पताललाई सहयोग गरेको उदाहरण नै बनेको यहाँ! अरु ठाउँमा पनि यस्तै सहकार्य आवश्यक छ जस्तो मैले महसुस गरेको छु ।
अस्पतालहरूले एकअर्कासँग सहकार्य गरेर नयाँ कार्यक्रम,उपकरण, प्रविधि, र नयाँ सोचलाई अँगाल्नुपर्छ।
अब त प्रतिस्पर्धा गर्ने भनेकै सेवाको गुणस्तर सुधार्ने माध्यम हुनुपर्छ, अवरोधको माध्यम हुनुहुँदैन ।
जीवन सर: ठीक भन्नुभयो निवेश सर, सहकार्यको भावना विकास गर्नुपर्छ । अस्पतालहरू जस्तै शिक्षण संस्थाहरूमा पनि सहकार्यको संस्कृति विकसित गर्न आवश्यक छ ।
डा.त्रिभुवन (झा जी): हो सर!अब समय आइसकेको छ कि हामीले स्वास्थ्य क्षेत्रको सम्भावनाहरूलाई लिएर अगाडि बढ्नुपर्ने र प्रविधिमैत्री भएर अस्पतालमा electronic मेडिकल रेकर्ड सिस्टम, टेलिमेडिसिन, ल्याप्रोस्कोपिक सर्जरी र डिजिटल हेल्थ प्रविधिले हामीलाई अघि बढ्न मद्दत गर्छ । त्यसैले, अब एक-अर्काको खुट्टा तान्ने होइन, हात समातेर अघि बढ्ने समय हो ।
डाक्टर नवीन याद छ तपाईँलाई सामाजिक सञ्जालमा हामीले हेरेको बेलुनको खेल!
विषय भने एकदम रोचक थियो— सामाजिक सञ्जालमा भाइरल भएको “बेलुनको खेल ।”
डा. नवीन: तपाईंहरूले त्यो बेलुनको खेल हेर्नुभएकोछ? जहाँ सबैलाई एक-एक वटा फुलाइएको बेलुन दिइन्छ, नियम भने एकदम सरल— जसको बेलुन अन्तिमसम्म नफुटी फुलेर रहन्छ, उसैले जित्ने।
निवेश सर: हो हो! त्यो खेलको भिडियो अस्ति मात्रै हेरें। तर के देखियो भने? सबैले एकअर्काको बेलुन फुटाल्नमा केन्द्रित थिए, कसैले पनि अरुको बेलुन सुरक्षित होस् भन्ने चाहेनन्।
डा. राज: त्यही त! आयोजकले अन्त्यमा भने— ‘अरुको बेलुन फुटाउनु भन्ने नियम नै थिएन, तपाईंहरूलाई त आफ्नै जोगाउनु मात्र भनिएको थियो।’ खेलको अन्त्यमा हाँस्न लायक स्थिति त बन्यो, तर यसको गहिरो अर्थ के हो भन्ने त सोच्नैपर्छ।
जनार्दन जी: यो हाँसोले हाम्रो समाजको वास्तविक मानसिकता देखाउँछ, हैन र? हामी अरुलाई पराजित गर्नमै रमाउँछौँ, जब कि सहकार्य गरेर अघि बढ्ने स्थिति हुँदाहुँदै हराउनु नै एउटा विकल्प रहेको गहिरो मानसिकता सायद समाजमा जरो नै गाडिसकेको छ ।
डा. त्रिभुवन: ठीक भन्नुभयो । वास्तवमा, हाम्रो समाजमा प्रतिस्पर्धा र असुरक्षाको भावनाले सहकार्यलाई ओझेलमा पारिदिएको छ । किन हामी आफ्नै बेलुनलाई बचाउने प्रयास गर्दैनौँ? किन अरुलाई हराउनुलाई नै प्राथमिकता दिन्छौं?
डा. नवीन: मलाई लाग्छ, यसको जरा बाल्यकालदेखि नै सुरु हुन्छ । हाम्रो शिक्षा प्रणालीले सहकार्यको महत्त्वलाई कम प्राथमिकता दिएको छ । हामीमा ‘तिमी अरुभन्दा अगाडि हुनुपर्छ’ भन्ने मानसिकता भरिएको छ, सहकार्य र सामूहिक प्रगतिबाट के पाइन्छ कति चाँडो प्रगति गर्न सकिन्छ, समूहमा ताकत छ भन्ने सिकाइदैन ।
डा. राज: मलाई त त्यो भन्दा पनि ठूलो समस्या त असुरक्षाको भावना हो जस्तो लाग्छ । जब मानिसहरू आफ्नो क्षमतामा विश्वास गर्दैनन्, तब अरुलाई असफल बनाएर आफू सफल भएको देखाउन चाहन्छन् । सायद यो मानसिकताले काम गरेको पनि हुनसक्छ ।
निवेश सर: त्यसैले हाम्रो समाजमा प्रतिस्पर्धा बढी छ, सहकार्य कम । यदि सबै मिलेर खेल खेलेका भए, प्रत्येकको बेलुन सुरक्षित राख्न सकिन्थ्यो, र अन्त्यसम्म सबैको बेलुन नफुटी फुलेको हुन्थ्यो ।
जीवन जी: तर हाम्रो समाजमा अरुको सफलताप्रति इर्ष्या गर्ने बानी प्रष्ट छ, हैन त? यदि कोही अघि बढयो भने हामी उसको प्रशंसा गर्नुको सट्टा, उसलाई’देखि नसकिने’ भावनाले ग्रसित हुन्छौं।
डा. त्रिभुवन: यो मानसिकता बदल्न सकिन्छ। पहिलो कुरा, हामीले आफ्ना सोचाइमा परिवर्तन ल्याउनु पर्छ। उदाहरणका लागि, हाम्रा धर्मग्रन्थहरूमा पनि कर्मयोग, सहकार्य र सहिष्णुताको शिक्षा दिइएको छ।
जीवनजी: बाफ्रे हाम्रो डाक्टर साबहरू पनि आधुनिक मात्र नभई दार्शनिक र आध्यात्मि पनि हुनुहुँदो रहेछ…।
(हा..हा..हा.. एकचोटि फेरि चिया पसलमा बेसरी हाँसो गुञ्जियो।)
लामो समयपछिको साथीहरूको भेट मनमा गुम्सेको कुराहरू खुलेर बोल्न र अनुभव साट्ने मौकाको रुपमा कोही पछि पर्न खोजेको थिएन ।
एकैछिनको मौनतालाई तोड्दै निवेश सरले फेरि कुरा राख्नु भयो ।
निवेश सर: डाक्टर झा एउटा कुरा भन्छु ल!
डाक्टर झा: भन्नुस् न सर ।
कथा थियो राइट दाजुभाइ र उडिरहेको चरा को बारेमा ।
निबेश सरले भन्नुभयो, “एउटा भनाइ छ डाक्टर साप, “सन् १९०३ मा, राइट दाजुभाइहरूले उडिरहेको चरा देखेर त्यसको विज्ञान बुझ्ने प्रयास गरे । उनीहरूको यस सोचले उनीहरूले विश्वको पहिलो हवाईजहाज बनाए र आधुनिक यात्रा प्रणालीको सुरुआत भयो ।”
यो कुराबाट हामीले के सिक्न सक्छौं भने सामान्य कुराबाट पनि नयाँ विचार र खोजीले मानव सभ्यतालाई नयाँ उचाइमा पुर्याउँन सक्छ ।”
डा. नवीनले थप्नुभयो, “कुरा उही हो! “नेपालको सन्दर्भमा, उडिरहेको चरा देख्दा हाम्रो सोच के हुन्छ होला?”
अधिकांश मानिसलाई गुलेली बनाएर चरालाई झार्ने विचार आउँछ ।
डाक्टर झा: हा…हा..हा.. यो कुरा मलाई साह्रै चित्त बुझ्यो ।
साँच्चै नै यसले हाम्रो सोचको दायरा देखाउँछ—समस्या समाधान र आविष्कार गर्ने सोचभन्दा अरुलाई असफल बनाउने सोच कसरी हावी छ हाम्रो समाजमा।”
गुलेली बनाउने सोचबाट प्लेन बनाउने सोचतर्फ समाजको ध्यान मोड्न आवश्यक छ ।
डा. नवीन: डाक्टर झा हामीले बुद्ध भगवानको शिक्षा सम्झनुपर्छ— उहाँले भन्नुभएको थियो कि’तिमीले अरुलाई दिएको दुःख, हजार गुणा बढेर फर्किन्छ ।’त्यस्तै तिमीले अरुलाई दिएको सुख हजार गुना बढेर फर्किन्छ । दुईमध्ये कुनै पनि एउटा उपदेशलाई लिएर अगाडि बढेमा हामीले जब जब अरुको बेलुन फुटाउँछौँ फुटाउने प्रयास गर्छौं, अवश्य पनि त्यसको असर हाम्रो भविष्यमा नकारात्मक रूपमा आउँछ भन्ने कुरा बिर्सिँदैनौँ ।
डा. राज: “हो डाक्टर नवीन! मलाई पनि याद आयो, “ओशोले भनेका थिए ‘सहयोग गरेर मात्र जीवनलाई सार्थक बनाउन सकिन्छ ।’ हाम्रो समाजमा यस्तो सकारात्मक दृष्टिकोणलाई बढी प्रचार गर्नुपर्छ ।”
निवेश सर: “हेर्नुस् डाक्टर साब। म त अहिले पो अस्पतालको अध्यक्ष भएको मैले शिक्षकको रुपमा लामो समय काम गरे त्यसैले मलाई लाग्छ स्वास्थ्य क्षेत्रमा त यो आवश्यक नै हो । तर हामीले सँगसँगै शिक्षा प्रणालीलाई पनि सुधार गर्नुपर्नेछ । बाल्यकालदेखि नै सहकार्य र सकारात्मक प्रतिस्पर्धाको पाठ पढाइनुपर्छ। जीवनमा सफलता अरुलाई हराएर होइन, आफैंलाई जितेर मिल्छ भन्ने सिकाउनु पर्छ ।”
जीवन जी: हेर्नुस् न् । हामी बिहान उठेदेखि पढ्ने समाचार र खोल्ने सामाजिक सञ्जाल मा धेरैजसो कुरा नकारात्मककै हुन्छ । अनि मानिसको मनोदशा कतातिर लागोस् त सर ।”त्यसैले, हामी सामाजिक सञ्जालको सट्टीक र सही प्रयोग गर्नुपर्छ । सामाजिक सञ्जालमा पनि सकारात्मक राम्रा कथाहरु, प्रेरणादायी लेखहरू, राम्रा उदाहरणहरूको प्रचार गर्नुपर्छ, जसले समाजलाई सकारात्मक दिशा तर्फ धकेल्न लामो समयमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।”
साथीहरूबीच छलफल गहिरिँदै थियो…। समय बित्दै थियो चिसो बढ्दै थियो दिन सानो भएकोले पनि होला । आकाश धमिलो भएर अध्यारो कुनै तरखरमा थियो तर पनि कुराले बिट मारेको थिएन…
यसै क्रममा, डा. त्रिभुवनले एक रोचक विषय उठाए— “ओशोको विचार र दिमागको सफाइ”।
डा. त्रिभुवन: तपाईंहरूलाई ओशोको एउटा भनाइ याद छ डाक्टर राज? यदि कसैले तपाईंको घरमा फोहोर फाल्न आयो भने, के तपाईं त्यो फोहोर आफ्नो आफ्नो घरमा फाल्न दिनु हुन्छ?
डा. नवीन: अवश्य नै दिन्नौँ । आफ्नो घर सफा राख्न सबै सचेत हुन्छन् र हुनु पनि पनि पर्छ । तर यो कुरा किन सोध्नुभएको झाजी ?
डा. त्रिभुवन: ठीक भन्नुभयो डाक्टर नवीन । तर सोच्नुस् त, यदि त्यही छिमेकी वा मित्र तपाईंको दिमागमा फोहोर—जस्तै इर्ष्या, घृणा, लोभ, द्वेष—लिएर अरुको बारेमा तपाईँको मस्तिष्कमा भर्न आउँछ भने तपाईं के गर्नुहुन्छ? हामी त उल्टै उसलाई चिया खुवाउँछौँ, सम्मान गर्छौँ, अनि उसको कुरा सुनेर आफ्नै मनमा अरुप्रति अझै विष भर्न दिन्छौँ ।
रसुवागढीबाट भित्रिएका इलेक्ट्रिक BYD कारहरू लामबद्ध भएर एकपछि अर्का गर्दै काठमाडौँतिर हुर्किँदै थियो ।
त्यस्तैगरी हाम्रो प्रसङ्ग पनि आफ्नै गतिमा थियो…
डा. राज: वास्तवमा अध्यक्षज्यू, हामी घरलाई सफा राख्न त सचेत हुन्छौँ, तर मनलाई सफा राख्ने प्रयास कमै गर्छौँ । समाजका नकारात्मक कुरा सुन्ने, त्यसलाई ग्रहण गर्ने, अनि त्यसैमा रमाउने हाम्रो प्रवृत्ति नै बनिसकेको छ ।
निवेश सर: ठ्याक्कै डाक्टर साब! जब कोही हाम्रो घरमा फोहोर फाल्न ल्याउँछ, हामी ‘ तुरुन्त बाहिर जाऊ’ भन्छौँ । तर जब कोही मनमा नकारात्मक कुरा भरिदिन खोज्छ हाम्रो मन मस्तिष्कमा विष भर्न आउँछ , हामी उसलाई विशेष सत्कार गर्छौँ चिया खुवाउँछौं । किन होला यस्तो है ? हामी कति सामान्य रूपले लिन्छौं यो कुरालाई!
जीवन जी: यसको मूल जरा त हाम्रो मानसिकता र बानीमा छ । मानिसलाई गसिप सुन्ने, नकारात्मक कुरामा रमाउने, र अरुको कमीकमजोरी केलाउनुमा एक प्रकारको आनन्द नै लाग्छ । तर हामीले बुझ्नुपर्छ—यस्तो सोचले हाम्रो मानसिक स्वास्थ्यलाई कमजोर बनाइरहेको छ ।
डा. त्रिभुवन: दिमागलाई पनि घर जस्तै सफा राख्नुपर्छ । जब कोही तपाईंलाई इर्ष्या, घृणा, वा द्वेषको कुरा सुनाउन आउँछ, त्यही समयमा हामीले भनिदिनुपर्छ—’माफ गर्नुहोस्, मलाई यस्तो कुरा सुन्नु नै छैन । फोहर पेट्रोल भर्नु नै छैन र फोहोर पेट्रोल भरेको हाम्रो गाडी अवश्य नै नकारात्मक दिशातिर नै दौडिने होला नि ।
डा. नवीन: यही त हो! तर हामी यति भन्न र यस्तो व्यवहार गर्न लाज मान्छौँ । हामीलाई लाग्छ, यदि हामीले कसैलाई नकारात्मक कुरा नगर्न भन्यो भने ऊ रिसाउनेछ वा हाम्रो मित्रता टुट्नेछ। तर वास्तवमा, हामीले आफूलाई जोगाउन आवश्यक छ यस्तो प्रदूषित र प्रदूषण फैलाउने मित्रताको कुनै अर्थ नै छैन ।
डा. राज: त्यसैले मानसिक अनुशासन अत्यन्त जरुरी छ । जस्तै शारीरिक स्वास्थ्यका लागि हामी स्वस्थ खाना खान्छौँ, त्यसैगरी, मनलाई पनि सकारात्मक कुराले पोषण दिनुपर्छ ।
निवेश सर: मलाई यो कुरा ठिक लाग्यो! ठिक भन्नुभयो डाक्टर राज! मलाई लाग्छ, यसको समाधान भनेको सही छनोट हो । हामीले हाम्रा विचार, संगत, र वातावरणलाई सचेत रूपमा चयन गर्नुपर्छ ।
जीवन जी: निवेश सर! “तर यो सम्भव कसरी हुन्छ? हामी त जहिल्यै मानिसका कुराहरू सुन्न बाध्य हुन्छौँ ।
डा. त्रिभुवन: जीवन सर, कुरा त्यही हो! आत्मचेतना । जसरी हामी बाहिरी फोहोर सफा गर्छौँ, त्यसैगरी मनका नकारात्मक सोच हटाउने प्रयास पनि निरन्तर गर्नुपर्छ । विस्तारै हामीले सकारात्मक कुरा मात्र ग्रहण गर्ने बानी बसाल्न सक्छौँ ।
डा. नवीन: सही भन्नुभयो डा.झा! हामीले आत्म निरीक्षण गर्नुपर्छ । जब कोही तपाईंलाई अरुका दोष सुनाउन आउँछ, सोध्नुपर्छ— ‘के यसले मेरो जीवनलाई कुनै फाइदा गर्छ?
डा. राज: एकदम सहमत छु । हामीले मेडिकल क्षेत्रमा मानसिक ‘सफाइ अभियान’ सुरु गर्नुपर्छ । म यो भन्न चाहन्छु कि आजदेखि, नकारात्मकता सुन्नुहुन्न, मात्र सकारात्मक सोचलाई बढावा दिने र ग्रहण गर्नुपर्छ ।
निवेश सर: हो, हामी सबै मिलेर यस्तो अभ्यास सुरु गर्नुपर्छ । यदि हामीले एक-अर्कालाई सहयोग गर्यौँ भने, नकारात्मक मानसिकता हटाउन सकिन्छ ।
डा. त्रिभुवन : निष्कर्षमा भन्नुपर्दा “दार्शनिकहरूले भनेको कुरा गहिरो छ । हामीले दिमागलाई अरुले दूषित गर्ने शब्दको फोहोरबाट बचाउनु पर्छ। हाम्रो मानसिक सफाइ हाम्रो व्यक्तिगत जिम्मेवारी हो । व्यक्तिगत सफाईबाट पेशागत सफाई तर्फ हामी उन्मुख हुन सक्छौँ ।
जबसम्म हामीले सही विचार ग्रहण गर्ने क्षमता विकास गर्दैनौँ, तबसम्म बाहिरी नकारात्मकता हावी हुनेछ । त्यसैले आफू सचेत बन्ने, सही कुरा मात्र ग्रहण गर्ने र अरुलाई पनि सकारात्मक बनाउने प्रयास गर्नुपर्छ ।
“समाजमा व्याप्त नकारात्मक प्रतिस्पर्धात्मक मानसिकताले हाम्रो प्रगतिलाई अवरोध गरिरहेको छ । हामीले सहकार्य, सहिष्णुता, र सकारात्मक सोचलाई आत्मसात् गर्नुपर्छ । हाम्रा धर्मशास्त्र, प्रेरणादायी व्यक्तित्वहरू र शिक्षाले स्पष्ट देखाउँछ कि साँचो सफलता सहकार्य र साझा प्रयासबाट मात्र सम्भव छ ।”
“यसकारण, अब समय आइसकेको छ कि हामीले ‘अरुको असफलता मेरो सफलता’ भन्ने सोच त्यागेर, ‘सबै मिलेर अघि बढौं’ भन्ने विचारलाई स्वीकार गरौं ।”
छलफल निकै रोचक मोडमा पुगिसकेको थियो । साँझ पनि रातमा गहिरिसकेको थियो । स्याफ्रुबेसीबाट आउँदै गरेको मोडमा ट्रकको हेडलाइटहरू बलिरहेको टाँडैबाट देखिन थालिसकेको थियो ।
सबैजनाले सकारात्मक सोच र मानसिक सफाइलाई जीवनशैलीको हिस्सा बनाउने संकल्प गर्दै चिया सकेर आ-आफ्ना गन्तव्यतर्फ लाग्यौँ ।






