जानकी मन्दिरमा पार्किङ गरिएका गाडीमा ‘ह्विल लक’, ट्राफिकसँग गुहार माग्दै छोटा महन्त रामरोशन दास

जनकपुरधाम । जानकी मन्दिरको प्राङ्गण भित्री पार्किङ गरी राखिएको गाडीहरुमा ट्राफिक प्रहरी धनुषाले “ह्विल लक“ गरिएको छ ।
जानकी मन्दिरमा गाडीहरू पार्किङ गरी राखिएको गुनासो आएपछि मंगलबार ती गाडीहरूको ह्विल लक गरिएको ट्राफिक प्रहरी धनुषाका प्रमुख सुर्यबहादुर शाहीले जानकारी दिए ।
लक गरिएको गाडी मध्ये बागमती प्रदेश–०१–०२५ च ६२२५ नम्बरको गाडी जानकी मन्दिरका छोटा महन्त एवं उत्तराधिकारी कहलाउने रामरोशन दासको रहेको छ भने अन्य भारतीय नम्बरको प्लेटका रहेको ट्राफिक प्रहरीले जनाइएको छ ।
गाडीको लक खुलाउन रामरोशन टेलिफोन मार्फत ट्राफिक प्रहरीलाई गुहार मागेका छन् । तर ट्राफिक प्रहरीले यस विषयमा सम्बन्धित पक्षसँग छलफल गरेपछि मात्रै केही भन्न सकिने जवाफ दिएका छन् ।
जानकी मन्दिरमा पार्किङ गरी राखिएको गाडीमा लक गरिएको फोटो राख्दै धनुषा निर्वाचन–३ बाट निर्वाचित सांसद मनिष झाले फेसबुक सामाजिक सञ्जालमार्फत मन्दिर प्राङ्गणमा पार्किङ गर्नु अनुचित भएको लेखेका छन्। उनले लेखेका छन्–जानकी मन्दिर हो, बिश्वको सम्पदा हो, पार्किङ स्थल हैन।
यस प्राङ्गण भित्र पार्किङ गरेर राखिएको सबै सवारीसाधनमा लक लगाउन ट्राफिक प्रहरीलाई अनुरोध गरेको छु, ता की आयिन्दा यो हेलचेक्राइ न होस। यसमा अनुशासन आवश्यक छ। विश्व सम्पदा सूचिमा सूचीकृत गराउने, जानकी मन्दिरलाई ट्रस्टमा लाने पहल भइरहेको बेलामा यस्तोमा न्यूनतम अनुशासन नभएसम्म हुँदैन। सबैलाई जनकपुरधाम र धरोहरहरूलाई माया र संरक्षण गर्न अनुरोध छ, सांसद झाले लेखेका छन्।






