‘धरातल, संस्कृति र संस्कारको उत्सव’ : छैठौं जनकपुर साहित्य महोत्सव बिहीबारदेखि शुरु हुँदै

जनकपुरधाम । जनकपुरधाममा नव मिथिला फाउन्डेसनको आयोजनामा छैठौं जनकपुर साहित्य महोत्सव हुन लागेको छ। ‘धरातल, संस्कृति र संस्कारको उत्सव’ भन्ने मुल नारासहित तीन दिवसीय महोत्सव बिहीबारदेखि सुरु हुनेछ।
महोत्सवमा १४ प्यानल डिस्कसन र ३ एकल प्रवचन आयोजित हुनेछन्। जसमा साहित्य, संस्कृति, राजनीति, अर्थतन्त्र लगायतका विविध विषयमा गहन छलफल हुने फाउन्डेसनका अध्यक्ष अमित कुमार साहले जानकारी दिए । अध्यक्ष साहका अनुसार महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरू’, ‘डिजिटल युगमा पठन–संस्कृति’, ‘क्रिकेटः समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमाः उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘नेपालको परराष्ट्र नीति र सिमाञ्चल’, ‘केन्द्रको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य सिनेमा’, ‘मधेशको मत’, ‘उज्यालोको यात्रा’, ‘संविधान, संघीयता र कानुनी राज्यको अभ्यास’ लगायतका १७ वटा सत्रहरू सञ्चालन हुनेछन्।
यसैगरी, महोत्सवमा स्थानीय विद्यार्थीहरूको सहभागितामा कविता, शिल्पकला र कथा वाचन प्रतियोगिता पनि आयोजना गरिनेछ। महोत्सवको उद्घाटन समारोहमा १० विद्यालयका ६० छात्रछात्राले ‘इएह छि हमर जनकपुर’ गीतमा कोरस प्रस्तुत गर्नेछन्। महोत्सवको अन्तिम दिन शास्त्रीय संगीतकार स्वर्गीय गुरुदेव कामतको परिवारलाई ‘अमित झा साहित्य संगीत पुरस्कार’ प्रदान गरिने फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालले जानकारी दिए ।
महोत्सवमा राष्ट्रिय र स्थानीय कलाकारहरूको प्रस्तुति, विद्यार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखक, पत्रकार र साहित्यप्रेमीहरूको उपस्थिति रहनेछ। फाउन्डेसनले मिथिलाको साहित्य र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको उपाध्यक्ष नेपालले बताए । उनका अनुसार अनुसार महोत्सवले साहित्य र समाजका विविध पक्षहरूमा गहन छलफल, बहस र समालोचनाका माध्यमबाट समृद्ध ज्ञानको आदानप्रदान गर्ने लक्ष्य राखेको छ।
तीन दिनसम्म चल्ने यो महोत्सव माघ २४, २५ र २६ गते जनकपुरधामस्थित राम मन्दिर पार्कमा आयोजना हुनेछ। फाउन्डेसनले विगत पाँच वर्षदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएको छ।






