धार्मिक पर्यटन प्रवद्र्धनका लागि इण्डो–नेपाल समिट सम्पन्न

जनकपुरधाम । धार्मिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित जनकपुरधाममा आयोजित इण्डो–नेपाल समिट सम्पन्न भएको छ।
भारतीय महावाणिज्य दूतावास वीरगञ्ज र जनकपुरधाम उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा तथा नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्को समन्वयमा सम्पन्न यो कार्यक्रमले नेपालमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न स्पष्ट नीति, योजना र कार्यक्रम आवश्यक रहेकोमा जोड दियो।
कार्यक्रमका वक्ताहरूले धार्मिक पर्यटकको आगमनले नेपाल र भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउनुका साथै गरिबी न्यूनीकरण, बेरोजगारीको समाधान र आयआर्जनमा वृद्धि गर्न मद्दत पु¥याउने विचार व्यक्त गरे।
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले नेपाल–भारतबीचको धार्मिक र सांस्कृतिक समानताले धार्मिक पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताउँदै, जानकी मन्दिरको दर्शनका लागि आउने भारतीय पर्यटकलाई नेपालका अन्य धार्मिक गन्तव्यसँग जोड्न आवश्यक रहेकोमा जोड दिनुभयो। यसका लागि थप लगानी र प्रचारप्रसारको खाँचो रहेको उनले उल्लेख गरे ।
मुख्यमन्त्री सिंहले रामायण सर्किटसँगै काठमाडौँ, लुम्बिनी र पोखरालाई समेटेर पर्यटन प्रवद्र्धन गर्ने योजना अघि बढाउनुपर्ने बताए । उनले दुग्धमती नदी संरक्षणजस्ता योजनाहरू मधेस प्रदेश सरकारले अघि सारेको जानकारी गराउँदै, यसले रामायण सर्किटलाई थप उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
भारतका पर्यटकले नेपालको जनकपुरधाम, पशुपतिनाथ, लुम्बिनी र पोखरालगायतका स्थानहरूको भ्रमण गर्न चाहने र नेपाली पर्यटकले भारतका प्रयागराज, अयोध्या, बाबाधाम र बनारसजस्ता धार्मिक स्थलको भ्रमण गर्न रुचाउने महावाणिज्यदूत देवी सहाय मिणाले बताइन् ।
पर्यटन प्रवद्र्धनका लागि दुवै देशले सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। महावाणिज्यदूत मिणाले धार्मिक पर्यटनलाई प्रोत्साहित गर्न दुवै देशले सहजीकरणमा काम गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनकुमार साह, पूर्वउपाध्यक्षद्वय डा. हरिवंश झा र डा. भोगेन्द्र झाले रामायण सर्किटको विकासका लागि नेपाल–भारत दुवै सरकार साझा रणनीतिसहित अघि बढ्नुपर्ने विचार व्यक्त गरे।
कार्यक्रमका अन्य वक्ताहरूले मधेस प्रदेशलाई भारतको बिहार र उत्तर प्रदेशका पर्यटकसँग जोड्न सके यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताए।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले रामायण सर्किटको विकासका लागि थप पूर्वाधार निर्माणमा दुवै देशको सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल–भारत उद्योग वाणिज्य राज्य विकास परिषद्का सचिव अतुलकुमार ठाकुर, संस्कृतिविद् रमेश रञ्जन झा, जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहलगायतले पनि रामायण सर्किटको महत्वका बारेमा विचार राखेको थियो।






