दुनाटपरी उद्योगबाट युवाको उदाहरणीय उद्यमशीलता: जितेन्द्र महतोको दैनिक तीन हजारसम्मको आम्दानी
'विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने लक्ष्य छ'

बरहथवा (सर्लाही) । हरिवन नगरपालिका–४ गेल्हाका २० वर्षीय जितेन्द्र महतोले दुनाटपरी उद्योग सञ्चालन गरेर दैनिक रु तीन हजारसम्म आम्दानी गर्दै आउनुभएको छ । गाउँमा एक उदाहरणीय उद्यमीका रूपमा परिचित उहाँले दुनाटपरी बनाउने उपकरण थप गरी व्यवसाय विस्तार गरेको छ ।
सोमबार नयाँ उपकरणको उद्घाटन गरेका जितेन्द्रले आगामी दिनमा उत्पादन दुईगुणाले बढ्ने अपेक्षा व्यक्त गरे । हरिवन नगरपालिकाले आयोजना गरेको लघुउद्यम कार्यक्रममा सहभागी भएर दुनाटपरी बनाउने सीप सिक्नुभएका उनले नौ महिना पहिला उद्योग सुरु गरेको हो ।
चुरेका वनमा खेर गइरहेको साल, भोर्लाको पातबाट दुनाटपरी बनाउने उक्त उद्योगमा महतोले २० जना युवालाई रोजगारी दिएको छ । हरिवन–१० सुकेपोखरीस्थित चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत उनी १२ कक्षापछि वैदेशिक रोजगारीको योजनामा थिए । विदेश भासिने तयारीमा रहेको आफू वडाध्यक्ष केशवराज थापाको सहयोगमा उद्यमी बनेको उनले बताए ।
“म कक्ष १२ (प्लस टु) सकेर विदेश जाने अन्तिम तयारीमा थिए”, उनले भने, “वडाध्यक्षसँग सहयोग माग्न जाँदा उहाँले यही केही गर्नुपर्छ भनेपछि हौसला पाएर सीप सिकेको हुँ । नगरले आयोजना गरेको लघु उद्यमसम्बन्धी सेमिनारमा लैजानु भएपछि । मलाई पनि उद्यमी बन्ने रहर जागेको हो । रहर त जाग्यो । तर, लगानी नहुँदा निकै दुःख पाएँ । उहाँले सहयोग गरेपछि आज उद्यम गरिरहेको छु ।”
बजारमा दुनाटपरीको माग धेरै भएकाले रु तीन लाख ६० हजार पर्ने नयाँ उपकरण जडान गरेको महतोले बताए । यसअघि रु दुई लाख ४० हजारमा एक थान उपकरण जडान गरेको उनले उल्लेख गरे । “त्यसबाट विभिन्न पाँच प्रकारका दैनिक पाँच हजार दुनाटपरी उत्पादन हुने गरेको छ । अब दैनिक १० हजार बढी उत्पादन बजार पु¥याउने लक्ष्य छ”, उनले भने ।
नयाँ उपकरण जडानपछि महिनामा तीन लाखसम्मको दुनाटपरी उत्पादन गर्न सकिने उनको दाबी छ । यसबाट मजदुर, उत्पादन, बजारीकरणसमेतको खर्च कटाएर दैनिक रु दुई हजार पाँच सयदेखि रु तीन हजारसम्म मुनाफा हुने उनले जानकारी दिए। रुखको पातबाट बन्ने भएकाले दुनाटपरी वातावरण मैत्री हुने भएकाले प्लास्टिकजन्य सामानभन्दा उपभोक्तालेसमेत धेरै रुचाउने गरेको उनको अनुभव छ ।
जितेन्द्रले स्थानीयस्तरमा उत्पादन भएका, वातावरण मैत्री सामग्रीको अधिक प्रयोग गरेर सबै तहबाट नवयुवा उद्यमीलाई प्रोत्साहन गर्न आग्रह गरे । यसले वैदेशिक रोजगारीमा जाने क्रम निरुत्साहित गर्ने भएकाले लघु उद्यममा युवालाई जोड्न आवश्यक रहेको बताए । “सुरुमा नपत्याएका बैंकहरूले अहिले ऋण लिन बोलाइरहेका छन् । सुरुमा उद्यम सुरु गर्छुभन्दा पुँजी थिएन”, उनले स्मरण गरे, “ऋण माग्दा बैंक तथा वित्तीय सङ्घसंस्थाहरूले दिएनन् ।”
अहिले फोन गरेर ‘ऋण लैजानुस्’ भनिरहेका महतोले बताए । पहिलो पटक हरिवनमा रहेको सगुन बचत तथा ऋण सहकारीबाट लिएको रु एक लाख ऋणबाट सुरु भएको उद्योग सञ्चालनमा फेरि त्यसबेलाको जस्तो सङ्कट भोग्नु नपरेको उनले सुनाए ।
जितेन्द्रले सञ्चालन गरेको भजुँ बाबा दुनाटपरी उद्योगबाट उत्पादन भएका सामग्री जिल्लाको हरिवन, नवलपुर, बागमती, लालबन्दी, बरहथवा, बयलबास, मलङ्गवालगायत बजारसम्म पुग्ने गरेको छ । उपभोक्ताको मागअनुसार सालको पत्ता, भोज पत्ता, दुनाटपरीलगायत सामान बजारमा उपलब्ध गराउने गरेको उनले बताए ।
जितेन्द्रजस्ता लगानी नभएका, उद्यमी बन्ने योजना भएकालाई नगरपालिकाले रणनीति बनाएर प्रोत्साहन गरिरहेको हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले बताए ।
स्थानीय साधनस्रोतमा जोडेर युवालाई स्वरोजगार बनाए मात्र मुलुक समृद्धिको यात्रामा जाने वडाध्यक्ष केशवराज थापाले बताए । पढाइ छोडेर रोजगारीका लागि विदेश जान सहयोग माग्ने युवालाई गाउँ घरमा उद्यम गरेर परिवारसँग बस्न प्रेरित गर्दै आइएको उनको भनाइ छ ।






